काठमाडौं । संसारभरका सरकार प्रमुखले आफ्नो कामलाई व्यवस्थित र प्रभावकारी बनाई देशलाई सुशासन प्रदान गर्न विज्ञहरुको सल्लाहकार सहितको सचिवालय गठन गर्छन् । नेपालमा पनि केही न केही यस्तो अभ्यास छ ।
प्रधानमन्त्रीको क्षमता र सफलता उनको सचिवालयको बनावटमा निर्भर गर्छ नै । तर, कतिपय नेता प्रधानमन्त्री बन्दा पनि उही घर चलाएर बसे जसरी बस्ने गरेका हुन्छन् । प्रभावकारी काम गरेर देखाउने प्रतिबद्धतासहित तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको सचिवालय चाँहि कस्तो छ त ?
प्रधानमन्त्रीको सचिवालयमा निजी, स्वकीय र सल्लाहकारसहितको तीन छुट्टाछुट्टै विज्ञको समूह हुन्छ । प्रधानमन्त्रीले यही समूहमार्फत आफ्नो धारणा बनाउँछन् र योजना कार्यान्वयन गर्न लगाउँछन् ।
तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएको चार महिना पुग्नै लाग्दा प्रधानमन्त्री दाहालले मुख्य राजनीतिक सल्लाहकारसहित विषय विज्ञ र निजी सचिवालयमा गरी ८ जनालाई नियुक्त गरे पनि अझैसम्म कूटनीतिक र आर्थिक सल्लाहकार नियुक्त गरेका छैनन् । उनकै दल माओवादी केन्द्रका नेताले समेत प्रधानमन्त्रीले सचिवालयलाई पूर्णता दिन नसकेको बताउँदै आएका छन् ।
परिणाम निस्कने गरी काम गर्छु भनेका प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको चार महिना पुग्न लाग्दा पनि सचिवालय चुस्त र प्रभावकारी बनाउन नसक्दा अत्यावश्यक र प्राथमिकताका काममा भन्दा सामान्य काममा नै अलमलिने गरेको भन्दै आलोचना हुने गरेको छ ।
प्रधानमन्त्री दाहालको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगा दाहाल छन् । दाहालले यसअघि प्रधानमन्त्री बन्दा छोरा प्रकाश दाहाललाई स्वकीय सचिव बनाएका थिए । उनको सचिवालयमा विज्ञभन्दा पनि पारिवारिक सदस्य र पार्टी कार्यकर्ता मात्रै छन् । हरेक प्रधानमन्त्रीले निश्चित कार्यविधिअनुसार भन्दा पनि आफूखुसी पद सिर्जना गरेर सचिवालयमा नियुक्ति दिने प्रचलन छ ।
अमेरिका, चीन, भारत जस्ता ठूला देशमा मात्र होइन अधिकांश विकसित देश र तीनका सफल नेतृत्व हेर्यो भने उनीहरुको पछाडि विज्ञहरुको टिम हुने गर्छ ।
बेलायतका एक पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले त सल्लाहकार समूहलाई इफिसेन्सी युनिटको विशेष नाम दिएर काम गरेकी थिइन् । तर, नेपालमा भने सचिवालयलाई विज्ञको भन्दा आफ्नो निकटताको आधारमा कार्यकर्ता नियुक्ति गर्ने केन्द्र बनाउँदा प्रधानमन्त्री कामविहीन मात्र बन्ने गरेका छैनन्, फुर्सदिला देखिएका छन् अनि भाषण र उद्घाटनमा समय खर्चिरहेका छन् ।