बर्दिबासबाट हिँडेर बालुवाटार पुगेकी बालिकाले प्रधानमन्त्रीलाई सोधिन्– गाउँ सहरमा अदालत, थाना, सिडियो कार्यालय किन बनेका ?

चैत्र १८, २०७९ |जितेन्द्र झा|मुरारी घिमिरे
बर्दिबासबाट हिँडेर बालुवाटार पुगेकी बालिकाले प्रधानमन्त्रीलाई सोधिन्– गाउँ सहरमा अदालत, थाना, सिडियो कार्यालय किन बनेका ?

काठमाडौं । आन्दोलनरत मिटरब्याजी पीडितहरुले शनिबार बालुवाटार पुगेर आफ्नो दुखेसो प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाए । पीडितको समूहमै एक बालिका पनि थिइन्, जसले प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउँदा सभाकक्ष नै स्तब्ध भयो । आमासँगै आन्दोलनमा होमिएकी ती बालिका हुन्– बेल् १२, सिरहाकी गरिमा राय ।

सरासर पढ्न पाएकी भए गरिमा यतिबेला सिरहाकै मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा पाँचको वार्षिक परीक्षा दिइरहेकी हुन्थिन् र केही दिनभित्रै छ कक्षामा पुग्थिन् । तर अहिले उनी सरकारले अपराध घोषणा गरेको मिटरब्याज कारोबारविरुद्धको आन्दोलनमा पैदल हिँडेर सिराहाबाट काठमाडौं आएकी छिन् ।

खेल्ने, पढ्ने र रमाउने बालापनको यो उमेरमा उनले जुलुसमा नारा लगाउनु परेको छ । विद्यालय छाडेको सात महिना बितेको छ । कारण हो– मिटरब्याजीको धम्की ।

गरिमा आफ्नी आमा ममतासँगै मिटरब्याजीविरुद्धको आन्दोलनमा छिन् । आमासँगै पैदलै हिँडेर उनी बर्दिबास हुँदै काठमाडौं आइपुगेकी हुन् ।

दिनहुँ प्रदर्शन गरिरहेकी उनले शनिबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई मिटरब्याजको विकराल समस्या सुनाउँदा सभा कक्ष नै स्तब्ध भयो ।

काठमाडौं आएका मिटरब्याजी पीडितहरु प्रधानमन्त्रीलाई भेट्न यसअघि पनि बालुवाटार पुगेका थिए । तर त्यतिबेला उनीहरुले भेट्न पाएनन् । शनिबार प्रधानमन्त्रीलाई भेट्दा र आफ्नो कुरा राख्न पाउँदा गरिमा खुसी देखिइनन् । दुखले भेट्न आएको उनले कान्तिपुर टेलिभिजनसँग भनिन् ।

गरिमाकी आमा ममताले ९ कक्षासम्म पढेकी छन् । छोरीलाई पढाएर सक्षम बनाउने उनको धोको छ । ममता गृहिणी हुन्, उनका पति वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनी जेठो छोरालाई माइतीमा राखेर छोरीसँगै आन्दोलनमा सहभागी भएकी हुन् । पैसा भएको भए छोरीले पढ्न पाउने उनले रुँदै सुनाइन् ।

शनिबार पीडितहरुमध्ये केहीले प्रधानमन्त्रीलाई आफूहरु साहु महाजनबाट ऋण लिएपछि साहुबाटै शारीरिक शोषणमा परेको, सुकुम्बासी भएको, अब यथास्थितिमा घर फर्किने अवस्था नरहेको गुनासो सुनाएका थिए । प्रधानमन्त्रीले दोषीलाई कारबाही हुने आश्वासन दिए । के अब उनीहरु फर्किन्छन् त ? गरिमाकी आमा ममता भन्छिन्– न्याय नपाएसम्म कसरी फर्कनु ?

मिटरब्याजपीडितहरुले आफूलाई न्याय दिन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए । त्यसक्रममा पीडितहरु भक्कानिएका थिए ।

सुदखोरहरुबाट आर्थिक शोषणमा परेकी यी बालिकाको पीडाबाट प्रष्ट हुन्छ, अभिभावकहरु ब्याजको दुष्चक्रमा पर्दा निर्वाध पढ्न पाउने बालबालिकाको अधिकार समेत हनन् भएको छ ।

कारबाही गर्ने प्रधानमन्त्री दाहालको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मिटरब्याजपीडितसँगको छलफलमा प्रधानमन्त्री दाहालले फिल्डमै गएर कारबाही गर्न सक्ने आयोग बनाइने आश्वासन दिए ।

मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयार भैइसकेको पीडितलाई दाहालले आश्वस्त पारेका छन् ।

पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले पटकपटक वार्ता गरे पनि सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्रीसँगको भेटपछि आजै साँझ ५ बजे समिति र पीडितपक्षबीच वार्ता भएको छ । 

सम्बन्धित समाचार...

बालुवाटारमा भक्कानिए मिटरब्याजी पीडित, उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सरकारसँगको ५ बुँदे सहमतिपछि मिटरब्याजी पीडितको आन्दोलन फिर्ता


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।