कांग्रेसमा नेतृत्व परिवर्तनको रस्साकस्सी : महाधिवेशन चुनावअगाडि कि पछाडि भन्नेमा विवाद

कार्तिक १२, २०८२ |प्रकाश बम
कांग्रेसमा नेतृत्व परिवर्तनको रस्साकस्सी : महाधिवेशन चुनावअगाडि कि पछाडि भन्नेमा विवाद

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस भने अहिले नेतृत्व परिवर्तनको बहसमा छ । 

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक नेतृत्व परिवर्तनमा केन्द्रित छ । तिहार र छठका लागि कात्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको बैठकमा प्रस्तुत् हुन नेताहरू रणनीति बनाइरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको समयावधि मंसिर २८ मा सकिँदै छ । कांग्रेसमा अहिले कार्यसमितिको म्याद विधानत: १ वर्ष समय थप्ने, नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने ३ थरी मत देखिएका छन् । यसको निर्क्योल आगामी केन्द्रीय कार्यसमितिको बैठकले गर्ने छ ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगावै नियमित महाधिवेशन गरेर जानुपर्ने पक्षमा शेखर कोइराला पक्ष छ । यो समूह कुनै पनि हालतमा चुनाव अघि नै नेतृत्व परिवर्तन गर्नुपर्ने भनिरहेको छ । यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको एजेन्डा उठाएका छन् । 

केन्द्रीय समिति बैठकमा मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका महामन्त्री थापाले सके नियमित नसके विशेष महाधिवेशनको रणनीति बनाइरहनुभएको छ । विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर गराइसकेको यो समूह त्यसैको बलमा चुनावअगाडि नै नेतृत्व फेर्ने रणनीतिमा छ ।

महामन्त्रीद्वय र शेखर कोइराला पक्ष जेसुकै गरी भए पनि चुनाव अगाडि नै नेतृत्व बदल्ने रणनीतिमा अघि बढ्दा अर्को समूह चुनावपछि नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने अडानमा छ । कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले त्यसको अगुवाइ गर्नुभएको छ । फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएकाले त्यसअघि महाधिवेशन गर्दा पार्टीमा बिग्रह हुने बुझाइ यो समूहको छ ।

चार वर्षअघि मंसिरमा भएको महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा चयन हुनुभएको थियो । अब देउवाले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरिसकेकाले नेतृत्वमा पुग्न नेताहरुबीच रस्साकस्सी चलेको हो । तर देशको पछिल्लो राजनीतिक घटनाक्रमले पनि कांग्रेसमा तत्काल नेतृत्व परिवर्तन गर्ने कि चुनावपछि भन्नेमा विवाद देखिएको हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।