सरकारसँगको ५ बुँदे सहमतिपछि मिटरब्याजी पीडितको आन्दोलन फिर्ता

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारसँगको ५ बुँदे सहमतिपछि मिटरब्याजी पीडितको आन्दोलन फिर्ता

काठमाडौं । शनिबार अपराह्न गृह मन्त्रालयमा भएको वार्तापछि सरकार र मिटरब्याजी पीडितबीच आन्दोलन फिर्ता लिने गरी ५ बुँदे सहमति भएको छ । 

सहमति पत्रमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा हस्ताक्षर भएको छ । शनिबार नै मिटरब्याजी पीडितहरूसँग वार्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि ५ बुँदे सहमति भएको हो । सहमतिसँगै मिटरब्याजी पीडितले आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

सहमति पत्रमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भदौ २७ को प्रतिवेदनले गरेका सिफारिस यथाशीघ्र र प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग समन्वय र सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै पीडितबाट उजुरी तथा गुनासो सङ्कलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानुनी सहायता तथा सचेतनाका काम गर्ने पनि भनिएको छ ।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेकाहरूलाई उच्च ब्याजदरमा ऋण दिने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने र ऋणको दुष्चक्रमा फसाई विभिन्न ढङ्गले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्न सरकारले सो सहमति गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट उक्त समस्याको जाँचबुझका लागि अधिकार सम्पन्न आयोग गठन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने पनि सहमति भएको छ । 

सहमति पत्र हस्ताक्षर कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण दिएर बाँच्ने आधार छुट नदिनेका लागि कारबाही हुने वचन दिए । समस्याको समाधानका लागि सरकार द्रुत रूपमा अघि बढ्ने पनि उनले बताए ।

सम्बन्धित समाचार...

बालुवाटारमा भक्कानिए मिटरब्याजी पीडित, उच्चस्तरीय आयोग बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.