डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

चैत्र ५, २०७९ |मोहन शाही
डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

दिपायल । डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुबीच विवाद उठ्दा नेत्रविक्रम चन्द नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि निर्वाचन स्थगित भएको हो ।

मतदाताको परिचयपत्रसम्बन्धी सामान्य विवादका क्रममा क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको विज्ञप्ति प्रकाशन गरेको थियो ।

निर्वाचन समितिले ७५ प्रतिशत मतदान सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा ८ सय ९ मतदाता छन् । स्ववियु निर्वाचनका लागि तीनवटा प्यानलले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघ एक्लै निर्वाचनमा होमिएको छ भने एमाले र माओवादीनिकट विद्यार्थी संगठनको एउटा तथा चन्द र राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी संगठनको अर्को संयुक्त प्यानल छ ।

निर्वाचन स्थगित गरेपछि नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । साथै डोटी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष दीपेन्द्र सिंहले सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिकालगायत निर्वाचन सामग्री तोडफोड गर्नेलाई कारबाही गरी मतदान पुनः सञ्चालन गर्नुपर्ने जनाए ।


Image

मोहन शाही

शाही कान्तिपुर टीभीका डोटी संवाददाता हुन् ।