प्रतिनिधिसभा बैठकमा बेपत्ता छानबिन तथा सत्य निरुपण आयोगसम्बन्धी विधेयक पेस हुँदै

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठकमा बेपत्ता छानबिन तथा सत्य निरुपण आयोगसम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ ।

प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहालले उक्त विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

यसअघि शनिबार बसेको सत्ता साझेदार दश दलको बैठकले संघीय संसदमा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको थियो ।

अघिल्लो संसदमै टेबल गरिएका यी विधेयकमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । तर, संसद विघटनलगायतका घटनाक्रमका कारण उक्त विधेयकले फेरि संसदमा प्रवेश पाउन सकेको थिएन ।

संक्रमणकालीन न्यायको पर्खाइमा रहेका द्वन्द्व पीडितहरुको माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध मुद्दा परेको छ । यससँगै माओवादी धारका दलहरु तरंगित बनेका छन् । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न माओवादी धारका दलहरुले सरकारलाई आग्रह गर्दै आएका छन् ।

यस्तै, आजको संसद बैठकमा प्रधानमन्त्री दाहालले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेस गर्ने कार्यसूची छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.