माओवादीले आज जनयुद्ध दिवस मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

फाल्गुन १, २०७९ |कान्तिपुर टीभी संवाददाता
माओवादीले आज जनयुद्ध दिवस मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज २८ औँ जनयुद्ध दिवस मनाउँदै छ ।

१० वर्षसम्म चलेको माओवादी जनयुद्ध २०५२ साल फागुन १ गते सुरु भएको थियो । सोही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको यो पहिलोपटक हो। सरकारले दिएको सार्वजनिक बिदाको भने आलोचना भइरहेको छ ।

एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा करिब १७ हजार नेपालीले ज्यान गुमाएका थिए । हजारौं अंगभंग र बेपत्ता भए।

सशस्त्र युद्ध छाडेर १६ वर्षअघि शान्ति प्रक्रियामा आएको माओवादी पार्टी अहिले सरकारको नेतृत्वमा छ ।

युद्धदेखि शान्ति प्रक्रियासम्मका सबै चरणको नेतृत्व गरेका अध्यक्ष पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । तर पछिल्लो समय माओवादीले हिजोका एजेन्डालाई बिर्सिएको आरोप लाग्ने गरेको छ ।

१० वर्षे सशस्त्र युद्धले निम्त्याएको घाउ अहिलेसम्म पुरिन नसकेको भन्दै आलोचना हुने गरेको छ भने द्वन्द्व पीडितले अझै न्याय पाउन सकेका छैनन् ।

विभिन्न चिरामा विभाजित माओवादीका सबैले समूहले फागुन १ मा जनयुद्ध दिवस मनाउने गरेका छन् ।

दाहाल नेतृत्वको सरकारले आइतबार मात्रै फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.