देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

माघ ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे बहुमतका साथ निर्वाचित भएका छन् ।

सभामुख चयनका लागि बिहीबार भएको मत विभाजनमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । घिमिरे एमाले सांसद हुन् ।

प्रतिनिधिसभामा उपस्थित कुल २६८ सांसदमा घिमिरेले प्राप्त गरेको मत बहुमत हुने भएकाले उम्मेदवार घिमिरे सभामुखमा निर्वाचित भएको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गरे ।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् ।

प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ बसेका थिए भने समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन थिए ।

यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक थिए ।

घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सत्ता साझेदार दलहरु एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले मतदान गरे । यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि घिमिरेलाई समर्थन गरेका थिए ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले न्यौपानेको पक्षमा मतदान गरेका थिए ।

नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

को हुन् घिमिरे ?

झापाको अर्जुनधारा नगरपालिका ६ मा २०१३ जेठ १३ गते जन्मिएका एमाले नेता देवराज झापा २ बाट निर्वाचित सांसद हुन् । उनी नेकपा एमालेभित्र केपी ओलीका खरो विश्वासपात्रका रुपमा चिनिन्छिन् ।

ताप्लेजुङको सिरिजंघामा जन्मिएका ६६ वर्षीय घिमिरेको राजनीतिक यात्रा २०३२ सालबाट सुरु भएको हो । एमालेभित्र अन्तर विरोध र गुटगत राजनीतिमा सधैं अध्यक्ष ओलीकै पक्षमा खुल्दै आएका घिमिरेले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् ।

एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमाले र माओवादी मिलेर बनेको नेकपामा प्रदेश १ का अध्यक्ष थिए । एमालेको दशौं महाधिवेशनपछि पार्टीको स्थायी समिति सदस्य बनेका घिमिरेको संसदीय राजनीति २०५६ सालमा राष्ट्रियसभाबाट अघि बढेको हो । घिमिरे २०५६ सालमा राष्ट्रियसभाका सदस्य थिए ।

तत्कालीन महाकाली सन्धि प्रकरणमा एमालेभित्र विवाद हुँदा अध्यक्ष मनमोहन अधिकारी मतदानमा सरिक नभएपछि उनका तर्फबाट भोट हालेर पक्षमा बहुमत पुर्याउने यिनै घिमिरे हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement