
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली कांग्रेसले ढोक्सा नथापेको स्पष्ट पारेका छन् ।
सभामुखको निर्वाचन प्रक्रियाका क्रममा प्रस्तावकको रुपमा प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्ने खोजेको उल्टै आरोप लगाए ।
उनले माछालाई जालमा पार्ने कांग्रेसको कुनै योजना नरहेको तर माछा र ढोक्साको कथा हालेर कसिलो पिंजडा नबनाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरे ।
गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीले ढोक्साको संज्ञा दिँदै शंका व्यक्त गरेका थिए । सोही प्रसंग उठाउँदै कांग्रेस महामन्त्री शर्माले त्यसको जवाफ फर्काएका हुन् ।
‘हामीले ढोक्सा थापेका छैनौँ । माछालाई जालमा पार्न हाम्रो कुनै योजना छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिंजडा चाहिँ नबनाउनका लागि मैले रोस्टममा उभिएर अपिल गर्नै पर्ने हुन्छ ।’ उनले भने, ‘आफू प्रधानमन्त्री भएका बेलामा संगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउ भन्दाखेरि संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाउ भन्ने अनि सँगैको अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजिएको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु ।’