गृहमन्त्री बनेर रवि लामिछानेले राजनीतिक नैतिकता देखाएनन् : नेपाल विवेकशील पार्टी

पुस १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री बनेर रवि लामिछानेले राजनीतिक नैतिकता देखाएनन् : नेपाल विवेकशील पार्टी

काठमाडौं । नेपाल विवेकशील पार्टीले रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मा दिनु राजनीतिक नैतिकता विपरित भएको आरोप लगाएको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुनःविचार गर्न उक्त पार्टीेले आग्रह गरेको छ ।

विवेकशील पार्टीले विज्ञप्ति जारी गरी नागरिकताको विवाद टुंगो नलाग्दै मन्त्रालयको जिम्मा लिएर लामिछाने स्वयं राजनीतिक नैतिकता देखाउनबाट चुकेको उल्लेख गरेको छ ।

‘रवि लामिछानेको बारेमा अहिले गृह मन्त्रालय माताहतको नेपाल प्रहरीले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिँदा तोकिएका कानुनी प्रावधानहरू पूरा नगरेको, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको भन्ने जस्ता विषयहरूमा छानबिन गरिरहेको विवरण सार्वजनिक भएका छन् । त्यस परिस्थितिमा लामिछानेले यस विषयको किनार नलागेसम्म आफैँले पनि कुनै पनि मन्त्रालय नलिई नैतिकता देखाउनुपर्ने वा पार्टीले सोही अनुसारको निर्णय गर्न सक्थ्यो ।’

प्रहरीले नागरिकताको विषयमा छानबिन गरिरहेका बेला सम्बन्धित निकायकै प्रमुख हुनु स्वार्थको द्वन्द्व भएको उक्त पार्टीको भनाइ छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले मन्त्रालयको जिम्मा नलिएको भए विकल्प खाजेर मत हाल्ने नागरिकलाई न्याय हुने विज्ञप्तिमा दाबी गरिएको छ ।

पढ्नुहोस विज्ञप्ति :

राष्ट्रिय स्वत्नत्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई मन्त्रीपरिषद्मा उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मेवारी दिने भर्खरै प्रधानमन्त्री नियुक्त हुनभएका पुष्पकमल दाहाल प्रचण्डको निर्णयले नेपाल विवेकशील पार्टीको ध्यानाकर्षण भएको छ । स्वार्थको द्वन्द्व देखिने उक्त कदमले राजनैतिक नैतिकता नदेखिएकाले त्यसमा पुन: विचार गर्न हामी सम्बन्धित पक्षलाई आग्रह गर्छौँ । साथै स्वार्थको द्वन्द्व सम्बन्धी कानुनको तर्जुमा गरी आगामी दिनमा सरकार र संसदमा व्यावहारिक रूपमा कार्यान्वयन गर्न पनि आग्रह गर्छौँ ।

रवि लामिछानेको बारेमा अहिले गृह मन्त्रालय माताहतको नेपाल प्रहरीले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिँदा तोकिएका कानुनी प्रावधानहरू पूरा नगरेको, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको भन्ने जस्ता विषयहरूमा छानबिन गरिरहेको विवरण सार्वजनिक भएका छन् । त्यस परिस्थितिमा निज लामिछानेले यस विषयको किनार नलागेसम्म आफैँले पनि कुनै पनि मन्त्रालय नलिई नैतिकता देखाउनुपर्ने वा पार्टीले सोही अनुसारको निर्णय गर्न सक्थ्यो । त्यसो गर्दा राजनीतिक नैतिकता अनुरूप हुन्थ्यो र नयाँ राजनीति खोजेर उक्त पार्टीलाई मत हालेका नागरिकहरूप्रति न्याय हुन्थ्यो ।

तर आफ्नै बारेमा अनुसन्धान गरिरहेको निकायको प्रमुख हुने गरी पार्टी सभापति लामिछानेको निर्णयलाई प्रधानमन्त्री दाहालले सदर गर्नु स्वार्थको द्वन्द्व हुने विषय भयो । यसले देशको कानुन परिपालना गराउने काममा नयाँ शक्तिको दुहाइ दिँदै आएका राजनीतिक पात्रहरूले पनि पुरानै चरित्र अपनाएको देखिन्छ । मन्त्री पदमा नियुक्तिको विषयमा अबिलम्ब निर्णय परिवर्तन गर्न हामी गृह मन्त्री, निजको दल तथा प्रधानमन्त्रीलाई आग्रह गर्दछौँ । साथै डा गोविन्द केसीसँग अघिल्लो सरकारले स्वार्थको द्वन्द्व सम्बन्धी कानुनहरू बनाउने बारेमा गरेको सहमतिलाई यस सरकारले कार्यान्वयन गरोस् र आगामी दिनमा सरकार र संसदमा पनि त्यसको व्यावहारिक कार्यान्वयन गरोस् भन्नेमा हामी जोडदार माग गर्दछौँ ।

विजय बाबु शिवाकोटी

प्रवक्ता

नेपाल विवेकशील पार्टी

२०७९ पुष १२


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.