सरकारमा जाने रवि लामिछानेको निर्णयप्रति केन्द्रीय सदस्यको टिप्पणी : जुन जोगी आए पनि कानै चिरेको !

पुस ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारमा जाने रवि लामिछानेको निर्णयप्रति केन्द्रीय सदस्यको टिप्पणी : जुन जोगी आए पनि कानै चिरेको !

काठमाडौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद देखिएको छ ।

केन्द्रीय सदस्य गणेश कार्कीले सरकारमा जाने निणर्यप्रति असहमति राख्दै पार्टी कार्यालयमा असहमति पत्र दर्ता गराएका छन् । असहमति पत्रमा उनले चुनावमा गरेका बाचा स्मरण गर्दै जुन जोगी आए पनि कानै चिरेको भने जस्तो अवस्था देखापरेको बताएका छन् ।

मन्त्री नभई केही गर्न सकिन्न भन्ने र पुरानै बोकेर हिँड्ने प्रवृत्ति सही नभएको कार्कीको तर्क छ ।

कार्कीले पार्टी कार्यालयमा पठाएको पत्र जस्ताको त्यस्तै :

मिति : ११ पौष २०७९

श्री कार्यालय सचिवज्यू

राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय कार्यालय, घण्टी घर, बसुन्धरा

बिषय : असहमति पत्र ।

नमस्कार,

हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरुबाट थाहा पाएँ । ... नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ । .... भनेर राष्ट्रपतिलाई लेखिएको पत्रमा तेस्रो स्थानमा रहेको पार्टी सभापतिको संसदीय दलका नेताकोरुपमा रहेको नाम, हस्ताक्षर र सांसद संख्याहरुसहीत समाचार र सामाजिक सञ्जालहरुमा देख्न पाएँ । चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरु, हाम्रा वाचापत्र सम्झना भयो ।

थाहा छ, एक थान केन्द्रीय सदस्यलाई भएको सम्झनाले पार्टीको निणर्यमा फरक पर्दैन । उसो त अनौपचारिकरुपमा अनेकौँ पटक तथा पछिल्लो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिकरुपमा सांसदको सरकार बनाउने/ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरु हुन सक्छन्, तिनलाई प्राथमिकता दिउँ भन्ने मेरो धारणाले पनि फरक पारेन । त्यो मेरो व्यक्तिगत धारणामा सिमित रह्यो । तर यसमा मलाई व्यक्तिगतरुपमा अन्याय भएको भन्ने लागेको छैन किनभने स्वयम पार्टी सभापतिबाट व्यक्त भएका असंख्य विचारहरु पनि केवल व्यक्तिगत धारणामा सिमित भएका देखिए । ति संस्थागत हुन्थे भने 'रोक्ने यीनीहरुलाई भनिएका नेताुहरुलाई उनीहरु भन्दा पहिले पुगेर 'जंगलबाट आएकाहरुले पनि जंगलीराज पुग्योु भनिएकाहरुकै 'राज'लाई झन् सहज बनाइन्न थियो कि ! त्यस्तो के बाध्यताले 'रोक्ने भनिएकाहरुलाई नै बोक्ने’ कित्तामा समाहित नभइ जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन ।

सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर 'जुन जोगी आए पनि कानै चिरेको' भनेर आमनागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै छौँ भन्न 'आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?' यो प्रश्नको जवाफ मसँग छैन ।

हामीले समर्थन नगरेको भए प्रधानमन्त्री चयन गर्नै नसकि तत्कालै निर्वाचनमा जानु पर्ने र त्यसले राष्ट्रिय खर्चमा भार बढाउने अवस्था पनि थिएन । अंकगणितियरुपमा सरकार बन्न १३८ जना सांसद चाहिन्छन् । अहिलेको सरकारलाई समर्थन गर्नेहरुको संख्या १६९ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो । त्यो पनि न्युनतम आवश्यकता भन्दा ११ बढि हुने थियो । हामी हुनु र नहुनुले सरकार निर्माणमा केहि असर नपुग्ने अवस्थामा पनि 'प्रचण्ड भन्दा पहिले बालकोट पुग्ने हतारो' किन गर्यौँ ? यसको जवाफ मसँग छैन ।

अधिकतम २५ जनाको मन्त्रिपरिषद हुने नेपालमा प्रतिनिधिसभामा मात्रै २७५ सांसद हुन्छन् । मन्त्री नभइ केहि गर्नै नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदहरुको उपस्थितिलाई अर्थहीन, बेकाम्मे भन्छ कि भन्दैन ? यसको जवाफ मसँग छैन ।

वाचापत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचापत्रमा नै लेखिएका मुद्दाहरु ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन् ? हामीले दस्तावेजमा गरेको गत ५ बर्षको राजनीतिक समिक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो ? त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरुकै सहभागितामा यी काण्डहरुको निष्पक्ष छानविन हुन सम्भव होला ? राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनु पर्ने भन्दै वकालत गरेका हामीले आफ्नोतर्फबाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउँन सकौँला ? खारेजै गर्नु पर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौँला ? हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?

यस्ता धेरै प्रश्नहरु दिमागमा खेलिरहेका छन्, नागरिकहरुले सोधिरहेका छन्, जसको जवाफ मसँग छैन । यी प्रश्नहरुको जवाफ दिन नसके पछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन सकिन । यसैले सरकारलाई समर्थन गर्ने वा सरकारमा जाने निणर्यमा असहमत रहेको जानकारी गराउन यो असहमति पत्र लेखेको हुँ । कृपया ! दर्ता गरिदिनु हुन अनुरोध गर्दछु ।

गणेश कार्की

केन्द्रीय सदस्य

बोदार्थ :

१. सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी

२. संसदीय दलको नेता, राष्ट्रिय स्वतन्त्र पार्टी

३. नेपाली नागरिक


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.