काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ ।
आज दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोटको निर्णयमा भएको त्रुटी सच्याएसँगै आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।
यसअघि हिजै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि एमालेलाई त्रुटी सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची पठाएपछि अन्तिम नतिजा सार्वजनिक हुन सकेको थिएन । आयोगले पुनः दोस्रो पत्र पठाएपछि एमालेले उम्मेदवारको सूची सच्याएको थियो ।
एमालेले प्रदेश १ को अल्पसंख्यकतर्फ लहरुमाया जिमी (याख्खा) को सट्टा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसंख्यकको प्राथमिकता क्रम संख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको छ । यस्तै, मधेस प्रदेशमा शीला यादवको सट्टा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टा जैनव खातुनको नाम कायम गरिदिन आयोगलाई आग्रह गरेको छ । योसँगै निर्वाचनको सबै नतिजाको टुंगो लागेपछि आयोगले आज अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।
आयोगले भोलि (बिहीबार) समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
संघीय संसदको प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकबाट ११० सांसद निर्वाचित हुने व्यवस्था छ । यस्तै, सातैवटा प्रदेशमा ३३० प्रत्यक्ष र २२० समानुपातिकबाट प्रदेशसभा सदस्य चयन हुने व्यवस्था छ ।
यसपटकको निर्वाचनमा प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कुल ८९ सिट जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । केही निर्वाचन क्षेत्रबाहेक एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले दोस्रो दलको हैसियत प्राप्त गरेको छ । एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित संघीय संसदमा ७८ सिट जितेको छ । माओवादी केन्द्र तेस्रो दल बनेको छ । उसले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सिटसहित ३२ सिट प्राप्त गरेको छ ।