ओलीले भने, 'रवि लामिछानेको पार्टी, अमेरिकाको फ्रिडम पार्टीको नक्कल हो'

मंसिर १३, २०७९
ओलीले भने, 'रवि लामिछानेको पार्टी, अमेरिकाको फ्रिडम पार्टीको नक्कल हो'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नामको नै गरेका छन् । 

उनले अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिने गरी आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरे । ओलीले संयोग नै भए पनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गर्दै चिन्ता समेत व्यक्त गरे ।

पार्टी निकट राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, नेपालले मङ्गलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झन्डा तथा अमेरिकाको फ्रिडम पार्टीको नाम र झन्डाको फोटोकपीको रूपमा आएको उल्लेख गरे । त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने ओलीको तर्क थियो । 

अर्काको नक्कल गर्ने, अरूको इतिहास पढ्ने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको बताउँदै ओलीले भने, 'हामीले आफैलाई बिर्सियौँ । आफूप्रति गर्व गर्न छाड्यौँ । आफ्नो संस्कृति र पहिचान मेटाउन र दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो ।' 

ओलीले  व्यङ्ग्य गर्दै भने- 'संयोग नै भन्नुपर्ला- अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिडम पार्टी अफ अमेरिका । त्यसको चुनाव चिन्ह पनि घण्टी छ- संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ- संयोग नै होला । तर, अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला ।

उनले संस्कृतिको रक्षा गरेर मात्रै पहिचानलाई कायम गर्न सकिने भन्दै लामिछाने नेतृत्वको उक्त पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रूपमा समेत चित्रण गरे ।