माओवादीको खुम्चिँदो साख

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
माओवादीको खुम्चिँदो साख

काठमाडौं । संविधानसभाको पहिलो निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको माओवादी त्यसयताका हरेक निर्वाचनमा खुम्चिँदै गएको छ । यसबीचमा यो पार्टी सरकार गठन र विघटनमा पनि निकै सक्रिय रह्यो । अध्यक्ष पुष्पकमल दाहाल परिस्थितिलाई आफू अनुकूल व्याख्या गर्दै आइरहन्छन् । तीन दशकदेखि निरन्तर पार्टीको नेतृत्व र पछिल्लो डेढ दशकदेखि सत्ताको केन्द्रमा रहेका दाहालले भने जसरी अब भने मुलुकको राजनीति अगाडि नबढ्ने देखिएको छ ।

गठबन्धनका अन्य चार दलसँग सिट बाँडफाँड गरेर चुनावमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावअघि नै आफ्नो दल तेस्रो र निर्णायक शक्ति बन्ने बताएका थिए । अहिले चुनावी मत परिणाम जसरी आएको छ, त्यसले माओवादी तेस्रो दल बन्ने सङ्केत त देखाएको छ तर, निर्णायक भूमिकामा रहने सम्भावना भने कम हुँदै गएको छ।

सशस्त्र युद्धअघि नेकपा मशाल हुँदादेखि नै दाहाल निरन्तर नेतृत्वमा छन् । विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको माओवादीले २०६४ यता तीन पटक सरकारको नेतृत्व गरिसकेको छ । दुई पटक त स्वयम् दाहाल नै सरकारको नेतृत्वमा पुगेका छन् । सत्ता समीकरण परिवर्तनमा पनि दाहाल पटक पटक निर्णायक देखिएका छन् ।

सत्ता समीकरणमा निर्णायक देखिँदा दाहालले आफ्नै पार्टीभित्र समीकरण मिलाउन भने सकेनन् । पार्टी पटक पटक विभाजित भयो । दश वर्षे सशस्त्र युद्धमा साथ दिएका मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दसहितका थुप्रै नेता अहिले उनीसँग छैनन् । एमालेसँगको एकता र एकता खारेजीपछि पार्टीमा परेको क्षतिलाई उनी यो चुनावबाट पूर्ति गर्न चाहन्थे । तर परिस्थिति त्यस्तो देखिएन ।

विगतमा सत्ता समीकरणमा निर्णायक मानिएको माओवादी यसपालिको चुनावबाट संसदीय अङ्क गणितमा जसरी खुम्चिएको छ, यसले दाहालमाथि गम्भीर प्रश्न पनि उठाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement