प्रदेश १ का उम्मेदवारको एजेन्डा : प्रदेशको नामकरण

मंसिर १, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेश १ का उम्मेदवारको एजेन्डा : प्रदेशको नामकरण

विराटनगर । एक नम्बरबाहेक अन्य छवटै प्रदेशले आफ्नो नाम राखिसकेको अवस्थामा प्रदेशसभामा उम्मेदवारी दिएका निवर्तमान प्रदेशसभा सांसदलाई मतदाताले अक्षमको आरोप लगाएका छन् । प्रदेशको नाम नै नराखी कार्यकाल बिताएका उनीहरूले अब फेरि चुनाव जितेमा प्रदेशको नाम राख्छु भन्दै मत माग्न आउँदा मतदाताले पत्याउन सकिरहेका छैनन् ।

२०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्यहरूले प्रदेश एकको राजधानी तोकेपनि नाम भने राख्न सकेनन् । सातमध्ये छ प्रदेशले नामाकरण गर्दा प्रदेश एकले भने नामै राख्न नसकी कार्यकाल गुजार्‍यो । प्रदेशसभा सदस्यका लागि पहिलो पटक उम्मेदवारी दिएका उम्मेदवारले रोजगार सिर्जना, खानेपानी तथा सुकुम्बासी समस्या समाधानलगायत विकास निर्माण मुद्दा र प्रदेशको नामकरणलाई एजेन्डा बनाएर मत मागिरहेका छन् ।

दोहोरिएर उम्मेदवार बनेका निवर्तमान प्रदेश सभा सदस्यहरूले भने आफूले शुरू गरेका विकास निर्माणका कामको पूर्णताका लागि फेरि प्रदेश सभामा जान लागेको बताएका छन् ।

मत माग्दै घरदैलोमा आएका प्रदेश सभाका उम्मेदवारले प्रदेशको नाम राख्ने प्रतिवद्धता जनाएपनि मतदाताले भने विश्वास गरेका छैनन् ।

एक नम्बरबाहेक ६ वटै प्रदेशले नामाकरण गरेको अवस्थामा प्रदेश सभा सदस्यमा फेरि उम्मेदवारी दिएका निवर्तमान सांसदहरूले मतदाताको प्रश्नको सामना गर्नुपरिहेको छ । प्रदेशको नाममा सहमति जुटाउन नसक्दा अधुरै रहेको कामले उनीहरूलाई अक्षमको आरोप खेप्नु परिरहेको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.