हावाहुरीले ठप्प बनाएको धनकुटा बजारको खानेपानी आपूर्ति आंशिक सुचारू

चैत्र ४, २०८२ |विनोद घिमिरे
हावाहुरीले ठप्प बनाएको धनकुटा बजारको खानेपानी आपूर्ति आंशिक सुचारू

धनकुटा । सोमबार रातिको हावाहुरीले पम्प र विद्युत् संरचना ध्वस्त बनाउँदा ठप्प भएको धनकुटा बजारको खानेपानी आपूर्ति बुधबारदेखि आंशिक रूपमा सुचारू भएको छ।

निबुवा र ताङ्खुवा खोलाबाट पानी तान्न प्रयोग गरिएको पम्प, हाइटेन्सन लाइन र प्यानल बोर्डमा क्षति पुगेपछि सदरमुकाममा आपूर्ति अवरूद्ध भएको थियो। लहरे वरस्थित ट्याङ्की, रफिङ फिल्टर, स्टोर र कार्यालयमा समेत रूख ढलेर क्षति पुगेको छ।

धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार हाल बाइपास प्रणालीबाट सीमित रूपमा पानी आपूर्ति गरिएको छ। मुख्य पम्प मर्मतपछि मात्रै पूर्ण आपूर्ति सम्भव हुने धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताउनुभयाे । 

निबुवा र ताङ्खुवाबाट पानी तान्ने प्रणाली बिहीबारदेखि मात्रै सञ्चालनमा आउने सम्भावना छ । समितिमार्फत धनकुटा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्मका करिब ३ हजार ५ सय उपभोक्ता प्रभावित भएका छन्।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।