
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-१० प्रसियामा अन्तरजातीय विवाह गरेको आरोपमा केटाको घरमा आगजनी गरिएको छ ।
स्थानीय सद्दाम बेहनाको घरमा गएराति एक समूहले आगजनी गरेको हो । बेहनाको घरमा गरिएको आगो सल्किएर अरू चारवटा घरटहरासमेत जलेका छन् । प्रहरीले आगजनी गर्न जान उकास्नेमध्यका एक जनालाई पक्राउ गरेको जनाएको छ । हाल घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले अन्तर धार्मिक-जातीय प्रेम सम्बन्ध भई केटीलाई भगाएको घटनामा केटाको घरमा लगाइएको आगोले अरू घर पनि जलेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताउनुभएको छ । आगजनीको सूचना पाउनासाथ पुगेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलका कर्मचारीले स्थानीयबासी सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
गएराति केटा पक्षको घरमा गाउँको एक समूह पुगेको थियो। त्यो थाहा पाएर केटाकेटी रातमै घर छोडेर भागेका थिए त्यसपछि उक्त समूहले घरमा आगो लगाइदिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बर्दिया प्रहरी प्रशासन र जनप्रतिनिधिले सामाजिक सद्भाव कायम राख्न सबैमा अपील गरेका छन् ।