
काठमाडौै । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताउनुभएको छ ।बाह्रखरी मिडियाद्वारा बिहीवार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको बताउनु भयो । उहाँले केही युवाहरुले निर्वाचन किन गर्ने ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानूनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भयो ।
उहाँले जेनी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाउनु भयो । ३० वटा छुट्टै जेनजी समूहहरुले आ—आफ्नो मागहरु ल्याएर हैरानी दिने गरेको उहाँको गुनासो छ ।
बाह्रखरी कथा प्रतियोगितामा प्रथम भए शिवराज शाही
यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीले प्रथम स्थान प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा कथाकार शाहीको ‘एक मान्ठ एक देउता’ शिर्षकको कथा उत्कृष्ट घोषणा गरिएको हो । यससँगै उहाँले ट्रफीसहित दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नुभयो ।
बिहीवार काठमाडौंमा आयोजित विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी रितेश गुरुङको ‘भूइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरे ।
उहाँहरुलाई क्रमशः दुई लाख र तीन लाख रुपैयाँ प्राप्त गर्नुभयो । बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशनमा ल्याएको छ । उक्त पुस्तकको समेत विमोचन समेत गरिएको छ ।