इन्डो-नेपाल टी-२० च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा

पुस ११, २०८२ |खेल ब्युरो
इन्डो-नेपाल टी-२० च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा

चितवन । चितवनमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा भएको छ । 

शुक्रबार लिग चरणको अन्तिम खेलमा दिल्ली वन्डर्स र चितवन क्रिकेट क्लब विजयी भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । दिल्लीसँगै सशस्त्र प्रहरी बलको एपीएफ चितवन क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका हुन्। भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा शुक्रबारको पहिलो खेलमा चितवनले भारतको तलतला इन्स्टिच्युटलाई ७ विकेटले पराजित गर्‍यो ।

पहिले ब्याटिङको निम्तो पाएको तलतलाले १६ ओभरमा ९ विकेट गुमउँदै १ सय २१ रन बनाएको थियो । तलतलाका लागि निखिल रावले २० बलमा ३ छक्का र ४ चौकाको सहयोगमा सर्वाधिक ३९ रन बनाए । आशुतोष पटेलले ३१ रन बनाए । चितवनका लागि दीपेश श्रेष्ठले ३ ओभरमा १० रन खर्चिँदै ३ विकेट लिए भने तलतलाले दिएको एक सय २२ रनको लक्ष्य चितवनले १२ दशमवल ३ ओभरमा ३ विकेट गुमउँदै पूरा गर्‍यो । 

चितवनको जितमा दीपकप्रसाद डुम्रेले ३१ बलमा ७२ रनको योगदान दिए । उनले ५ छक्का र ७ चौका प्रहार गरे । रोशन झाले २२ रन बनाए भने प्रतिक श्रेष्ठ २० रनमा अविजित रहे । तलतलाका लागि प्रशान्त श्रीवास्तबले २ र बोबी शंकरले एक विकेट लिए । अर्धशतक बनाएका चितवनका दीपक प्रसाद डुम्रे प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै शुक्रबार भएको लिगको अन्तिम खेलमा दिल्ली विभागीय टोली नेपाल पुलिस क्लबलाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दिल्लीले दिएको २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब १७ दशमवल ३ ओभरमा १ सय ६४ रनमै अलआउट भएपछि पुलिसको सेमीफाइनल पुग्ने प्रयासमा पूर्णबिराम लागेको हो । 

टस जितेर पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा २ सय ६७ रन बनाएको थियो । दिल्लीका मोहम्मद कैफले ३५ बलमा ७८ रन बनाए । निशान्त यादवले अविजित ५५, हर्षित सेठ्ठीले ५१ रन बनाए। नेपाल पुलिस क्लबका लागि अशोक धामी र अरुण ऐरीले समान २-२ विकेट लिए। 

जवाफमा पुलिसका लागि शंकर रानाले सर्वाधिक ८७ रन बनाए पनि अन्य ब्याटरले साथ नदिँदा टिमलाई जिताउन सकेनन् । दिल्लीका विवेक धामीले ३ ओभरमा २२ रन खर्चिँदै ३ विकेट लिए। महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । 

पहिलो सेमीफाइनलमा शनिबार बिहान दिल्ली वन्डर्स र विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा घरेलु टोली चितवन क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।