काठमाडौं । फागन २१ गते तोकिएको समयमै प्रतिनिधि सभाको निर्वाचन गर्न कस्सिएको सरकारले राजनीतिक दलहरूलाई चुनावमा सहभागी हुने वातावरण बनाउन पार्टी कार्यालयदेखि नेताहरूको घरदैलो नै गरिरहेको छ ।
सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश रहेको तर दलहरूले चुनावको वातावरण नभएको भनिरहँदा सरकारले नेताहरूसँग सामुहिकदेखि एक्ला-एक्लै भेटेर चुनावमा होमिन आग्रह गरेको हो । सरकारको बारम्बारको आग्रह तथा नयाँ र वैकल्पिक धारका शक्तिहरूको चुनावलक्षित ध्रविकरणको दौडाहाले कांग्रेस र एमालेलगायतका पार्टीहरू निर्वाचनमा जुट्न थप दबाबमा परेका छन् ।
सरकारको उच्चस्तरिय वार्ता टोलीका सदस्यसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार दिनभर मुख्य तीन दलका शीर्ष नेताहरूलाई घर-घरमै भेटेर चुनावमा होमिन आग्रह गर्नुभयो । बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, मध्यान्ह एमाले अध्यक्ष केपी शर्मा ओली र दिउँसो नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पालै-पालो भेटेर मन्त्री खरेलले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको हो ।
तीन दलका नेताको घरमै पुगेर चुनावी धारणा बुझेपछि मन्त्री खरेलले तीनैजना नेताले चुनावमा भाग नलिने नभनेको बताउनुभयो । एमाले अध्यक्षसँग मात्रै झन्डै तीन घन्टा समय बिताएका मन्त्री खरेलका अनुसार ओलीले सुरक्षाको विषयमा मुख्य चासो राख्नुभएको थियो ।
खासगरी एमाले अध्यक्ष ओलीले जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रम तथा आफूमाथि सरकारको निगरानीमा असन्तुष्टि जनाइरहनुभएको छ । एमालेले त्यही विषयलाई चुनावको वातावरणसँग जोड्ने गरेको हो । सरकारले भने सबै दललाई कसरी चुनावमा सहज रूपमा लैजाने भनेर प्रयास गरिरहेको छ ।
यसअघि सरकारको उच्चस्तरीय वार्ता टोलीका तीन मन्त्रीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालय निरीक्षण गर्दै चुनावमा जुट्न आग्रह गरेका थिए । राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका नेताहरूसँग यसैसाता संवाद पनि गरिसक्नुभएको छ । अर्को वार्ता शनिबार बालुवाटारमै बस्ने तयारी छ ।
शुक्रबार मन्त्री खरेलको दौडधुप त्यसैको निमन्त्रण पनि हो । त्यसो त रास्वपाका सभापति रवि लामिछानेसहित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र कुलमान घिसिङले एउटै मोर्चामा उभिएर चुनावमा होमिने तयारी गर्नुले पनि कांग्रेस- एमाले लगायतका दलहरूमाथि दबाब बढेको छ ।