रोहित पौडेल ओमोडा र जेको गाडीको नयाँ ब्रान्ड एम्बासडर नियुक्त

पुस ११, २०८२ |खेल ब्युरो
रोहित पौडेल ओमोडा र जेको गाडीको नयाँ ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टिमका कप्तान रोहित पौडेल ओमोडा र जेको गाडीको नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । 

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालि र रोहितबीच शुक्रबार सम्झैतामा हस्ताक्षर भएको हो । यससँगै रोहितलाई जेको जे-पाँच गाडी हस्तान्तरण गरिएको छ । रोहितले मंसिरमा सम्पन्न एनपीएल २०२५ मा उत्कृष्ट नेपाली खेलाडीका रूपमा उक्त कार जितेका थिए । 

रोहितलाई एसपीजीका म्यानेजिङ डिरेक्टर सन्दीप शारदाले चाबी हस्तान्तरण गरेका हुन् । एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा र रोहितबीच कार्यक्रममा सम्झौता आदानप्रदान भएको थियो । दुई पक्षबीच तीन वर्षको सम्झौता भएको बताइएको छ । सम्झौताको अर्थिक विवरण सार्वजनिक नगरिए पनि दर्तालगायत पुरस्कारमा लाग्ने सम्पूर्ण कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने छ ।

लुम्बिनी लायन्सलाई एनपीएल २०२५ को च्याम्पियन बनाउन रोहित पौडेलले खेलाडी र कप्तान दुबै भुमिकामा सानदार प्रदर्शन गरेका थिए । सोही प्रदर्शनका कारण उनलाई 'इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट' घोषित गरिएको थियो । रोहितले एसपीजीसँग जोडिन पाउँदा खुसी लागेको बताए । 

सो कार्यक्रममा यस अघिका ब्रान्ड एमबासडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो । गत संस्करण उनले ओमोडा कार जितेका थिए । कार्यक्रममा रोहितका बुबाआमाको पनि सहभागिता थियो ।