कैलालीको चुरे क्षेत्रमा फेरि सालको चिरान काठ बरामद, तस्कर फरार

पुस ७, २०८२ |टेकराज जोशी
कैलालीको चुरे क्षेत्रमा फेरि सालको चिरान काठ बरामद, तस्कर फरार

धनगढी । कैलालीको चुरे गाउँपालिका-५ गजिन्ने क्षेत्रमा ठूलो परिमाणमा सालको चिरान काठ बरामद गरिएको छ। 

डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरको नेतृत्वमा गएको टोलीले भगवती सामुदायिक वनभित्र चिरान गरी लुकाएर राखिएको अवस्थामा करिब ७० क्यूफिट सालको काठ बरामद गरेको हो। डिभिजनल वन अधिकृत ठाकुरका अनुसार काठको तस्करी गर्ने उद्देश्यले झाडीभित्र लुकाएर राखिएका ११८ वटा कडी काठ फेला पारिएको हो। 

चुरे क्षेत्रमा पछिल्लो समय काठको अवैध कटान तथा चोरी-तस्करी बढ्दै गएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्दा उक्त काठ बरामद गरिएको उहाँले जानकारी दिनुभयो। हाल काठ कटान तथा चोरी-तस्करीमा संलग्न व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको डिभिजन वन कार्यालयले जनाएको छ। 

यसअघि केही दिनअघि पनि चुरे गाउँपालिकाको बाँसपानी सामुदायिक वनबाट यसैगरी करिब १२८ क्यूफिट सालको काठ बरामद गरिएको थियो। पछिल्लो समय सरकारी निकायको उदासिनताका कारण कैलालीको चुरे र त्यस आसपासका वन क्षेत्रमा व्यापक रूपमा काठको तस्करी र वन अतिक्रमण हुनुका साथै वन्यजन्तुको समेत अवैध चोरी-सिकारी हुने गरेको छ ।

सामुदायिक वनभित्रै चिरान काठ बरामद हुन थालेको छ। कतिपय सामुदायिक वनमा वन पदाधिकारीकै मिलेमतोमा समेत अवैध रूपमा काठ तस्करी हुने गरेको स्थानीयको गुनासो छ। डिभिजन वन कार्यालय कैलालीका प्रमुख ठाकुरले यसरी अवैध रूपमा काठ तथा वन्यजन्तुको चोरी-तस्करी भइरहेको सूचना गोप्य रूपमा दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।