राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर जसले बाबुको सपना साकार पारे

माघ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर जसले बाबुको सपना साकार पारे

काठमाडौै । आफ्ना अधूरा सपना सन्तानले पूरा गर्दा को खुशी नहोला ? क्रिकेटका ठूला प्रशंसक मोहमद सलाम शेख स्वयं मैदानमा पुग्न सकेनन्, तर छोराहरूले राष्ट्रिय टिमको जर्सी लगाएर उनको सपना साकार पारे । परिवारको सपना, संघर्ष र त्यागले आरिफ शेख र आसिफ सेखलाई नेपाली राष्ट्रिय क्रिकेट टिमसम्म मात्र पुर्‍याएन, पछिल्लो समयका हरेक उपलब्धिमा सामेल पनि गरायो । कान्तिपुर समाचारको नो योर राइनामा आज आसिफका दाजु आरिफ शेखको क्रिकेट करियर चर्चा ।

मोहमद आरिफ शेखको जन्म अक्टोबर ४, १९९७ मा वीरगञ्जमा भएको हो । क्रिकेटप्रेमी परिवारमा जन्मिएका आरिफका बुबा मोहमद सलाम शेख वीरगञ्जमै मोटरसाइकल ग्यारेज सञ्चालन गर्थे । घर नै नारायणी क्रिकेट रंगशालाको नजिक भएकाले आरिफ सानैदेखि क्रिकेटको वातावरणमा हुर्किए ।

आरिफले स्कुल जीवनदेखि नै क्रिकेट खेल्न थाले । स्कुलस्तरमै उत्कृष्ट प्रदर्शन गरेपछि उनले छात्रवृत्ति पनि पाए । विद्या सदन सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनी अध्ययनका लागि काठमाडौं आए । गोल्डेनगेट इन्टरनेशनल कलेजमा प्लस टु अध्ययन गर्दै उनले क्रिकेटलाई निरन्तरता दिए । त्यहाा पनि उनले छात्रवृत्ति पाए ।

परिवारको पहिलो प्राथमिकता पढाइ नै थियो । आरिफको चाहना पनि सिभिल इन्जिनियरिङ पढ्ने थियो । तर प्लस टु पढ्दापढ्दै राष्ट्रिय टोलीमा स्थायी बन्न थालेपछि उनले इन्जिनियरिङको सपना त्यागेर क्रिकेटलाई नै करिअर बनाउने जीवनकै ठूलो निर्णय गरे । नेपाली क्रिकेटमा देखिएको सम्भावना र आˆनो निरन्तर प्रगतिले उनलाई यही बाटो रोज्न प्रेरित गर्‍यो ।

यसै समयमा उनी नेपालको यू-१९ राष्ट्रिय टिममा छनोट भए । सन् २०१४ मा उनले एसीसी यू-१९ एसिया कप र एसीसी यू-१९ पि्रमियर लिग खेले । उमेर समूहमै देखाएको परिपक्व प्रदर्शनले उनलाई छिट्टै सिनियर टिमतर्फ डोर्‍यायो । क्षेत्र नम्बर २ वीरगञ्जका लागि २०१४ को वानडे राष्ट्रिय प्रतियोगिता ६ खेलमा २ सय ६२ रन र ११ विकेट लिएपछि आरिफको चर्चा राष्ट्रियस्तरमा चुलियो । सोही प्रदर्शनपछि तत्कालीन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परे र उनलाई मलेसियामा भएको एसीसी पि्रमियर लिगको टोलीमा बोलाइयो ।

आरिफले २०१५ मा नामिबियामा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-२ मा घरेलु टोली नामिबियाविरुद्ध लिस्ट 'ए' डेब्यु गरे । उनले जुलाई २०१८ मा लड्र्समा नेदरल्याण्ड्सविरुद्ध टी-२० आई डेब्यु गरिसकेका थिए । तर वषर्ाका कारण खेल पूरा हुन पाएन । आरिफ सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध नेपालको पहिलो ऐतिहासिक ओडीआई खेल खेल्ने टोलीका सदस्य बने । त्यही उनले ओडीआई डेब्यू गरे ।

आरिफले नेपालका लागि ६५ ओडीआईमा ९ अर्धशतकसहित १४ सय ५ रन बनाएका छन् भने ९ विकेट लिएका छन् । ४५ टी-२० आईमा उनको नाममा ५ सय ५३ रन र ४ विकेट छन् ।

दाहिने हाते ब्याटर आरिफ मिडल अर्डरका भरपर्दा खेलाडी हुन् । टोली संकटमा परेको बेला विकेट जोगाउादै इनिङ्स सम्हाल्ने उनको क्षमता प्रशंसनीय छ । यद्यपि टी-२० क्रिकेटमा कहिलेकाहीा सुस्त ब्याटिङका कारण आलोचना पनि खेप्नुपरेको छ । यही कमजोरी सुधार्दै पछिल्ला वर्षहरूमा उनले टी-२० मा ठूला सट खेल्न थालेका छन् । टी-२० विश्वकप को आधिकारिक वार्म अफ खेलमा युएईविरुद्ध ३७ बलमा ६१ रन बनाउादा उनले दिपेन्द्र सिंह ऐरीसाग १ सय ३ रनको अविजित साझेदारी गर्दै आˆनो क्षमता प्रमाणित गरि सकेका छन् ।

टोली संकटमा पर्दा सबैभन्दा डटेर सामना गर्न सक्ने आरिफ पहिलो पटक नेपालका लागि टी-२० विश्वकप खेल्दैछन् । निश्चित रुपमा आरिफले यस अवसरको भरपुर फाइदा उठाउने छन् र ओडीआईजस्तै टी-२० आइमा पनी नेपाली मिडिल अडरको मेरुद्दण्ड बन्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.