
कपिलवस्तु । विश्वमा उड्न सक्नेमध्ये सबैभन्दा अग्लो पन्छी हो सारस ।
अहिले त्यही चित्ता-कर्षक पन्छीले बचेरा हुर्काउने समय हो । रूपन्देही र कपिलवस्तुका फार्म-लेन, सिमसार, ताल र नदी आसपास सारसको व्यस्तता निकै बढेको छ । सय दिन पुगेका बचेरा अहिले उड्ने अभ्यास गरिरहेका छन् । अहिले माउ-बचेराको मनमोहक चहलपहल हेरेर आनन्दीत हुनेहरूका लागि यो क्षेत्र उत्कृष्ट स्थल बनेको छ ।
रूपन्देहीको भगवानपुर, हर्नैया, छपिया र लुम्बिनी आसपासका रमवापुर, महिलवार, पर्सा बजार र शिवगढीयामा सारसका बचेरा हुर्किरहेका छन् । त्यस्तै कपिलवस्तुको निग्रोधाराम, तिलौराकोट, तुल्सीडिहवा र बर्दहवालगायत ठाउँमा सारसका बचेरा पखेटा तान्दै उड्न सिक्दैछन् । यी ठाउँमा माउ बचेरा अघि पछि गर्दै हिड्छन् ।
मान्छे देख्नासाथ सर्तक बन्छन् । लुक्न खोज्छन् । खुला वातावरणमा रमाउँछन् । मेहनत र संघर्ष गरेर सारसले हुर्काएका बचेरा अबको दुई, तीन सातामा पहिलो उडान गर्ने तयारीमा छन् । विश्वकै दुर्लभ पन्छीका माउले बचेरालाई नयाँ वातावरणसँग घुलमिल हुन सिकाइरहेकोछ । आहार खोज्न र सिकार गर्न सिकाइरहेको छ ।
अहिले बचेरा आफैं आहारा खोज्दै खान सक्ने भएका छन् । प्वाख तान्दै उफ्रिन थालेका छन् । सुरक्षा र आहारविहारको राम्रो हुँदा यस वर्ष राम्रो संख्यामा बचेरा हुर्किएका छन् । रूपन्देही र कपिलवस्तुमा ओथारो बसेका २० जोडीले बचेरा हुर्काएका छन् । १२ वटाले दुबै बच्चा हुर्काइसके ।
सारसले वर्षाका बेला प्रजनन् गर्छ । सीमसार, पोखरी र तालको छेउमा पानीको सतहभन्दा माथि उठेर गुँड बनाउँछ । घाँसपात, घुरपात, खर जम्मामा गरेर जोडीनै लागेर मेहनत र संघर्ष गरेर गुँड बनाउँछन् । सुरक्षाकालागि चारैतिर पानी जमेको ठाउँको बीचमा गुँड बनाई अण्डा पारेर ओथारो बस्छन् । अहिले सारसका बचेरा ४ महिनाका हुन थालेका छन् ।
सारसले ३१ देखि ३४ दिन ओथारो बसेर जन्माउँछन् । १२ किलोसम्म तौल हुने यो चरा ५ देखि ६ फिट अग्लो हुन्छ । सारसले ३१ देखि ३४ दिनमा बच्चा हुर्काउने चराविद्हरू बताउँछन् । यो ४०, ५० फिट उचाइमा उड्ने सारस कृषकको गतिलो साथी पनि हो । बाली नोक्सान पुर्याउने संखे किरा लगायत किराफट्यांग्रालाई आहार बनाउँछ ।
सारस बस्ने ठाउँवरिपरी सर्पको डर हुँदैनन् । नजिकै चितुवा, बाघ-भालुलगायत जन्तु आउन लागे पहिले कराएर अग्रिम जानकारी दिन्छ । यस्ले सम्भावित आक्रमणबाट बच्न सघाउँछ । बौद्ध धर्मावलम्बीहरू यसलाई आस्थाका रूपमा हेर्छन् । भारतमा, उनीहरूलाई वैवाहिक निष्ठाको प्रतिक मानिन्छ । सारसलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले नगर पन्छी र भारतको उत्तर प्रदेशको राज्यले राज्य पन्छी बनाएकोछ ।
२०८० मा गरिएको अध्ययनले नेपालमा ६ सय ९० सारस रहेको देखाएको थियो । त्यसमध्ये रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा ८० प्रतिशत बढी छन् ।