भारतीय सीमासँग जोडिएको भिठामोड नाका बन्द

फाल्गुन १९, २०८२ |विकास आर्या
भारतीय सीमासँग जोडिएको भिठामोड नाका बन्द

महाेत्तरी । प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले महोत्तरीको भारतीय सीमासँग जोडिएको भिठामोड नाका बन्द गरिएको छ । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमानाका फागुन १८ गतेको मध्य रातिदेखि पूर्ण रूपमा बन्द गरिएको हो । भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय र समझदारीपछि बन्द गरिएको सीमानाका फागुन २१ गते राति १२ बजेसम्म लागू रहनेछ । त्यस्तै सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्थापन गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दुवै देशका सुरक्षा अधिकारीबीचको सहमतिअनुसार सीमा आवतजावत अस्थायी रूपमा रोकिएको हो । बन्द अवधिमा एम्बुलेन्स, दमकल, शववाहन तथा अन्य अत्यावश्यक मानवीय सेवाबाहेक सबै प्रकारका सवारीसाधन र पैदल यात्रुको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइने प्रहरीले स्पष्ट पारेको छ ।

खुला सीमाका कारण निर्वाचनका समयमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न सीमावर्ती क्षेत्रमा गस्तीसमेत तीव्र पारिएको छ । निर्वाचन अवधिभर सीमा सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा ल्याइएको सुरक्षा निकायले जनाएको छ ।

यता मिथिला मध्यमा परिक्रमा अन्तगृह परिक्रमामा सहभागी भएर भारत फर्कने भारतीय श्रद्धालुहरूका लागि छुट्टै व्यवस्थापन गरिएको छ । भारतीय श्रद्धालुहरूलाई अन्तगृह परिक्रमा सम्पन्न गरी आजै भारत फर्कनका वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । तर भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।