
काठमाडौं । उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।
आइतबार, सोमबार पम्पहरूमा इन्धन भर्नेहरूको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरू लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरूले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो पश्चिम एसियाको तनावले उपभोक्तामा त्रास बढेको छ ।
समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो कि भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरूमा छ । नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर, उपभोक्ताहरु भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।