कमला खोलामा अवैध रूपमा उत्खनन गर्ने समूहको आक्रमणमा परी असई गम्भीर घाइते

मंसिर १, २०८२ |अनिल मिश्र
कमला खोलामा अवैध रूपमा उत्खनन गर्ने समूहको आक्रमणमा परी असई गम्भीर घाइते
जनकपुर । कमला खोलामा अवैध रूपमा उत्खनन गर्ने समूहको आक्रमणमा परी पुर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहा प्रहरी चौकीका असई विरेन्द्र यादव गम्भीर घाइते हुनुभएको छ ।

धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीमा अवैध उत्खनन भइरहेको सुचना पाएपछि चार जना प्रहरीको टोलीसहित आइतबार राति ९ बजे पुग्नु भएका असई यादवमाथि आक्रमण भएको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो ।

दुवै खुट्टामा चोट लागि गम्भीर घाइते हुनुभएका यादवलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार पछि थप उपचारका लागि लालगढ पठाइएको हो । ठक्कर हान्ने ट्रयाकटरको पहिचान भइसकेको र खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । सातवटा भन्दा बढी ट्रयाक्टरसहित २५ जना भन्दा बढीको समुहमा रहेकाहरूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । 

जेसीबी प्रयोग गरी जथाभावी खोला दोहन भइरहेको भन्दै विरोध गर्दै आए पनि कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ । पोर्ताहा प्रहरी चौकी, राजमार्ग र नदी छेउमै वर्षौदेखि चारवटा क्रसर सञ्चालनमा रहेको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।