सुनसरी मोरङमा रहेका हात्तीको हुल झापा पस्यो

सम्भावित क्षेति रोक्न वन कार्यालयको माइकिङ र गस्ती
कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरी मोरङमा रहेका हात्तीको हुल झापा पस्यो

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान पसेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । 

गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० वटा हात्तीको हुल बाँधेर बच्चासहित झापा छिरेकोले स्थानीयवासीलाई त्यसबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो ।

डेढ वर्षअघि झापाको बाहुनडाँगी हुँदै पचास ६० वटा हात्ती छिरेका थिए । तीमध्ये आधा हात्ती एक वर्षअघि भारत फर्किएको पनि बाँकी हात्ती मोरङ र सुनसरीको वन क्षेत्रमा रहेका थिए । तिनै हात्ती यतिखेर झापा पुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको हो । हात्तीको बथान शिव सताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा पुगेको छ ।

हात्तीबाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले रात्रिकालीन गस्तीसमेत भइरहेको वन कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.