प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा केन्द्रद्वारा मतपत्र छपाइकाे तयारी तीव्र

कार्तिक ३०, २०८२ |नारायण किलम्बू
प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा केन्द्रद्वारा मतपत्र छपाइकाे तयारी तीव्र

काठमाडौं । मतदानका लागि साढे तीन महिना बाँकी रहँदा जनक शिक्षा सामाग्री केन्द्रले मतपत्रदेखि अन्य छपाइका लागि तयारी थालेको छ । 

निर्वाचन आयोगसँग पाँचपटक छलफल गरिसेको केन्द्रले औपचारिक पत्र पाउनासाथ मतपत्र छपाइ सुरु हुने जनाएको छ । फागुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्रसहितका सबैखाले छपाइमा जुटेको जनक शिक्षा सामाग्री केन्द्रले कार्ययोजना नै बनाएको छ । 

केन्द्रका अनुसार नमूना मत्रपत्रदेखि आवश्यक प्रचार सामग्री र मतपत्र छाप्ने प्रक्रियाका लागि तीन महिना लाग्ने छ । मतदानको समयका लागि पनि अब करिब साढे तीन महिना बाँकी रहेकोले जनक शिक्षा काम थाल्न निर्वाचन आयोगको औपचारिक पत्रको पर्खाइमा छ । छपाइका लागि कागज, मसीदेखि मेसिनहरू तम्तयार अवस्थामा राखिएको छ ।

आगामी निर्वाचनका लागि करिब ४ करोड नमूना मतपत्रसहित मतदाता परिचयपत्र, पोष्टरहरू र आवश्यक फारमदेखि समानुपातिक तर्फको मतपत्र पनि छाप्नुपर्ने हुन्छ । त्यसका लागि जनक शिक्षासँग भएका ३ सय भन्दाबढी जनशक्ति परिचालन हुनेछन्। सेक्युरिटी प्रेसदेखि अत्याधुनिक १७ वटा वेभ मेसिनहरू तयारी अवस्थामा छन् ।

निर्वाचन आयोगको औपचारिक पत्र पाएपछि जनक शिक्षाले तीन तहको सुरक्षा घेरा बनाएर छपाइको काम थाल्नेछ । जनक शिक्षाले २०६४ सालको संविधानसभाको निवार्चनदेखि तीनवटै तहका निर्वाचनमा मतपत्र र अन्य छपाइको काम गर्दै आएको छ । यसपालीको निर्वाचनमा मतपत्र र अन्य छपायका लागि मात्रै करिब २५ करोड खर्च हुने अनुमान जनक शिक्षाको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।