
काठमाडौं । जेन-जी आन्दोलनपछिको आगजनी, तोडफोड र लुटपाटबाट ७८ अर्ब क्षति भएको आकलन गरिएको छ ।
जसमा निजी क्षत्रेको ३६ अर्ब क्षति भएको नेपाल चेम्बर अफ कमर्सले आइतबार गरेको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनुभएको छ । आन्दोलनमा ५५ जिल्लामा क्षति पुगेको र त्यसमध्ये ४ सय १९ वटा निजी क्षेत्रका संरचना र १५ सय सरकारी संरचनामा क्षति पुगेको मन्त्री खनालले जानकारी दिनुभयो ।
यस्तो क्षतिबाट माथि उठ्नका लागि निजी क्षेत्रले गरेको बीमा दाबीको ५० प्रतिशत अग्रिम भुक्तानी गर्न निर्देशन दिएको र त्यो अनुसारको काम भइरहेको उहाँको भनाइ छ । अहिलेसम्म २३ अर्बको बीमा दाबी भएकोमा १६ अर्ब जतिको मूल्यांकनको काम सकिएको उहाँको भनाइ छ । निजी क्षेत्रको मनोबल उकास्न तथा व्यवसायको वातावरण तयार गर्न छापा हान्ने र पसल नै बन्द गरिदिने काम नहुने समेत उहाँले आश्वासन दिनुभएको छ ।
अर्थमन्त्री खनालले लगानीमैत्री वातावरण तथा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको र कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भईरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीकर्ताहरूको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ ।
साथै पछिल्लो ४ वर्षमा १ लाख ५० हजार जना कालोसूचीमा परेकाले यसमा कर्जा पुनर्तालिकीकरण गरि कालोसूचीबाट बाहिर निकाल्नुपर्ने उहाँको भनाइ छ । साथै अध्यक्ष अग्रवालले भारतमा जीएसटीका दरहरूमा हालै व्यापक कटौती भएकाले नेपालमा पनि भन्सारका दरहरूलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।