भारत, पाकिस्तान र बंगलादेशमा भएको बम विस्फोटका घटनापछि नेपालमा पनि उच्च सुरक्षा सतर्कता

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारत, पाकिस्तान र बंगलादेशमा भएको बम विस्फोटका घटनापछि नेपालमा पनि उच्च सुरक्षा सतर्कता

काठमाडौं । भारत, पाकिस्तान र बंगलादेशमा भएको बम विस्फोटका घटनापछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ । 

विस्फोटमा जोडिएका व्यक्ति नेपाल प्रवेश गर्न सक्ने भन्दै भारतीय अधिकारीले सहयोग मागेपछि सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सतर्कता बढाइएको हो । नेपाल प्रहरीको प्रतिआतंकवाद मामिलासम्बन्धी निकाय विशेष ब्युरोले भारतीय पक्षसँगको समन्वयमा काम गरिरहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । 

जसअनुसार सीमा क्षेत्रबाट हुन सक्ने प्रवेशसँगै मदरसा र मस्जिदमा हुने नयाँ व्यक्तिको गतिविधिलाई नोटिसमा राखिएको प्रहरीले जनाएको छ । यस्तै विमानस्थलमा समेत अध्यागमन जाँच र स्क्रिनिङमा कडाइ गरिएको छ । विगतमा यस्ता घटनामा संलग्न व्यक्ति खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेर तेस्रो मुलुक गएका थुप्रै उदाहरण रहेकाले सतर्कता अपनाइएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 

देशको सुरक्षा र राजनीतिक अवस्था अत्यन्त संवेदनशील बनेका बेला गलत तत्वहरूले सहजै प्रभावित पार्न सक्ने र खुला सीमाका कारण हुन सक्ने उग्रवादी आवतजावत, प्रोक्सी प्रभाव र चरमपन्थी गतिविधिको प्रत्यक्ष जोखिम रहने भएकाले सुरक्षा संयन्त्र सचेत हुनुपर्ने सुरक्षा मामिलाका जानकारहरूको भनाइ छ । 

दिल्ली विस्फोटपछि भारतमा अपरेसन चलिरहेका बेला त्यससँग जोडिएका बाँकी व्यक्तिहरू भागेर नेपालसम्म आउने सम्भावना रहेकाले कडाइ गरिएको प्रहरीले जनाएको छ। यस्तै सशस्त्र प्रहरी बलको 'इन्टेलिजेन्स ब्युरो' ले पनि भारतीय पक्षसँग समन्वय गरेर सुरक्षा जाँच बढाएको छ भने सीमामा खटिएको टोली प्रोएक्टिभ भएर खटिरहेको जनाएको छ। 

खुला सीमाका कारण भारतमा गम्भीर अपराधमा संलग्नले विगतमा पटक–पटक नेपालमा सेल्टर लिएका उदाहरण छन् । विशेष ब्युरोका अधिकृतहरूका अनुसार, सन् २००० पछि भारतमा भएको आतंकवादी हमलामा जोडिएका चार सदस्यले नेपाल आएर सुनसरीबाट नागरिकता लिएका थिए । 

उनीहरू २०७१ सालमा राहदानी बनाएर यूएई भागेको पाइएको थियो । सन् २००६ मा भएको मुम्बई विस्फोटका एक आरोपित अब्दुल कुरेसीलाई समेत प्रहरीको विशेष ब्युरोले कपिलवस्तु क्षेत्रमा पक्राउ गरेर भारतलाई बुझाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.