
काठमाडौं । साेमबारदेखि झन्डै एक महिनासम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग-एनपीएल सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउनसमेत सहयोगी हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय खेलाडीको आगमन, देशभरबाट आउने दर्शकलगायतका कारण एनपीएलमा करिब एक अर्ब रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यो उत्सवले व्यवसायीलाई समेत केही राहत दिने निश्चित छ । एनपीएलमा सहभागी हुन ११ देशका चर्चित खेलाडी नेपाल आईसकेका छन् ।
यसले थोरै मात्रामा भए पनि तारे होटलहरूको अकुपेन्सी बढेको छ । चर्चित खेलाडीहरूको नेपाल आगमन आफैामा पनि पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देश हो, त्यसमाथि एनपीएल हेर्न आउने दर्शकका कारण साना होटलमा समेत बुकिङ बढेको होटल संघ नेपाल-हानले जानकारी दिएको छ । यस्ता प्रतियोगिताले समग्र पर्यटन क्षेत्रमै सकारात्मक प्रभाव पार्ने व्यवसायीको भनाइ छ ।
एनपीएल साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने नेपाल क्रिकेट संघ-क्यानको आकलन छ । जेन-जी आन्दोलन र पछिल्ला तीन वर्षमा उपभोग्य वस्तुको खपत घट्दा आर्थिक गतिविधिमा पनि सुस्तता आएको छ । यस्तो अवस्थामा पनि स्थानीय यातायात, किराना पसलदेखि विज्ञापन बजारसम्म गरी १ अर्बभन्दा बढीको आर्थिक कारोबार हुनेछ ।
दक्षिण एशियामा बढेको क्रिकेट क्रेजलाई राज्यले समेत व्यवस्थित तरिकाले आत्मसाथ गर्न सके खेल पर्यटन र अर्थतन्त्र मजबूत हुने अर्थशास्त्रीहरूको भनाइ छ । एनपीएलको यो सिजनमा प्रत्यक्ष-अप्रत्यक्ष ६० भन्दा बढी कर्पोरेट हाउस संलग्न छन् । यस वर्ष पनि हरेक फ्रेन्चाइज क्लबको खर्च ८ देखि १० करोड रूपैयाँसम्म हुने देखिएको छ ।
खेलाडीको तलब भत्ता, खाने बस्ने व्यवस्था, स्वास्थ्य, प्रशिक्षण लगायतमा खर्च हुनेछ । फ्रेन्चाइज टोलीले नेपाली खेलाडीका १ करोड र विदेशी खेलाडीका २ करोड हाराहारीमा खर्च गर्दैछ ।