बिहार विधानसभा चुनावले मधेशकाे सीमावर्ती क्षेत्र तातियो, नेपाली बजारमा भारतीयको भीड

सुरक्षा चुनौती बढ्यो
कार्तिक १७, २०८२ |अनिल मिश्र
बिहार विधानसभा चुनावले मधेशकाे सीमावर्ती क्षेत्र तातियो, नेपाली बजारमा भारतीयको भीड

जनकपुर । यही कार्तिक २० र २५ गते हुन लागेको बिहार विधानसभा निर्वाचन-२०२५ को प्रत्यक्ष प्रभाव मधेशको सीमावर्ती क्षेत्रमा परेको छ । 

दुबै देशबीच खुला सिमाना रहेका कारण बिहार विधानसभा निर्वाचन नजिकिँदै गएसँगै सीमावर्ती क्षेत्रमा मदिरा सेवन गर्न आउने भारतीय नागरिकहरूको भिडभाड बढ्दै गएको छ । प्रान्त सरकारले बिहारमा लामो समयदेखि मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्ध लगायतका कारण विभिन्न राजनीतिक दल र निर्वाचन प्रत्याशीका समर्थक र स्थानीय नेताहरू मदिरा सेवनका लागि नेपाल आउने गरेका छन । 

यहाँ खुलेआम मदिरा पाउने भएका कारण सीमापारी गाउँका अगुवा भनाउनेहरू आफू पनि आउने र दुईचार जनासमेत लिएर आउने गरेको धनुषाको धनौजि गाउँपालिका भडरीयाका रामजीवन मण्डलको भनाइ छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी सहितका जिल्लाका भारतीय सीमानासँग जोडिएको बजार र ग्रामीण क्षेत्रमा जथाभावी खोलिएका मदिरा पसलहरूमा साँझ ५ बजेदेखि राति ८ बजेसम्म भारतीय नागरिकहरूको भिडभाड हुन्छ । 

दश गजा छेउमै रहेका धनुषाको मुसहरनीयाका राजु यादव भन्नुहुन्छ, मदिरा पिएपछि जथाभावी होहल्ला गर्ने, सँगै आएका मतदाताहरूलाई नेता कार्यकर्ताहरूले प्रभावमा लिन खोज्ने, उमेदवारहरूको विभिन्न पक्षको बारेमा चर्को बहस र सवाल जवाफ गर्ने मदिरा पसलहरूमा अहिले दिनचर्या जस्तो नै भइसकेको छ । हो-हल्ला कारण सबभन्दा बढी महिला र युवतीहरू समस्याको परेको राजुको भनाइ छ ।

स्थानीयको विरोध र दुबै देशका सीमा सुरक्षा अधिकारीको सहमति विपरीत नेपाली सीमानामा जथाभावी मदिरा पसलहरू खुलेका छन । मदिरा भठी खोल्नेहरूमा नेपाली मात्र होइन भारतीय नागरिक पनि रहेको स्थानीय बताउँछन् । दुई सय ४३ वटा निर्वाचन क्षेत्र रहेको बिहार विधानसभाको सन २०२० मा तीन चरणमा सम्पन्न भएको थियो भने २०२५ मा दुई चरणमा हुन लागेको हो । 

भारतीय निर्वाचन आयोगका अनुसार नभेम्बर ६ तारीखमा प्रथम चरण र ११ नभेम्बर दोस्रो चरणको निर्वाचन हुन लागेको बिहार विधानसभामा यस वर्ष सात करोड ४३ लाख मतदाता सहभागी हुनेछन् । जसमध्ये तीन करोड ९२ लाख पुरूष, तीन करोड ५० लाख महिला र सतरह सय २५ जना तेस्रोलिड्गीहरूको संख्या रहेको छ ।

नेपालसँग जोडिएको भारतीय सीमावर्ती जिल्ला मधुवनी, सीतामढी, दरभंगा, बेतीया, चम्पारण, सुपौल, लगायत उत्तरी बिहारमा ११ नभेम्बर अर्थात् यहि कार्तिक २५ गते निर्वाचन हुनेछ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।