
दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा मंगलबार माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३-००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।
घाइते हुनेहरूमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका-८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।
यस्तै लमजुङको दोर्दी गाउँपालिका-४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका-१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका-१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।