
काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण देशका विभिन्न स्थानमा भइरहेको हिमपात तथा वर्षा बुधबार बिहानसम्म रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार अहिलेको मौसमी प्रणालीको प्रभाव देशका पहाडी र हिमाली भूभागमा बढी देखिएको छ । गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी भू-भागमा भारी हिमपातको समेत सम्भावना छ । पर्यटक तथा पर्वतारोहीले सावधानी अपनाउनुपर्ने विभागको भनाइ छ । बुधबार बिहानदेखि यस प्रणालीको प्रभाव क्रमश: कम हुँदै जाने मौसमविद्ले जनाएका छन् ।
यसैगरी बंगालको खाडीमा विकसित 'मुन्था' नामक सामुद्रिक आँधीको प्रभाव नेपालमा समेत देखिने मौसमविद्को भनाइ छ । उक्त आँधी भारतको विशाखापट्नममा प्रवेश गरिसकेको र अबको दुई दिनमा नेपाल प्रवेश गर्ने भएकाले देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार नै उच्च हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च सतर्कताका लागि अनुरोध गरेको थियो। प्रधिकरणका अनुसार गण्डकी, बागमती र कर्णालीका केही हिमाली जिल्लामा उच्च हिमपात भए पनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।
आगामी दिनमा पनि वर्षा हुने सम्भावना भएकाले भएकाले तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । केहि जोखिम भएका स्थानमा सुरक्षाकर्मी तैनाथ गरिएको प्राधिकरणको भनाइ छ । नेपाल पर्यटन बोर्डले पनि ट्रेकिङ मार्गमा रहेका पर्यटकहरूले मौसममा सुधार नहुँदासम्म सुरक्षित आश्रयस्थलमा बस्न र कुनै कठिनाइ भए तत्काल स्थानीय प्रशासन वा पर्यटक प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४ दशमलब ४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१ दशमलब २ मिलिमिटर वर्षा भएको छ। यसैगरी सिन्धुपाल्चोकमा २९ दशमलब ६, चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि आज मौसममा बदली हुँदा छिट्फुट वर्षा भई चिसो महसुस गरिएको छ ।