
काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेकाहरूको उद्धार गरेका छन् ।
हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७ सय ५० जनालाई उद्धार गरी ङिस्याङ गाउँपालिका-६ स्थित खाङसार पुर्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ । अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षितसाथ राखिएको छ ।
मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षितसाथ फर्कने व्यवस्था मिलाइएको सशस्त्रका सह-प्रवक्ता थापाले बताउनुभएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पनि तिलिचो बेस क्याम्प र आसपासका क्षेत्रमा हिमपातका कारण रोकिएका करिब १५ सय पर्यटकलाई सुरक्षाकर्मीहरूको टोलीले सुरक्षित स्थानतर्फ सार्न थालेको जानकारी दिनुभएको छ ।
मनाङको माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरू भएको थियो । सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको प्रजिअ पौड्यालले बताउनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जुन स्थानमा रहेको हो, सोही स्थानका सुरक्षित ठाउँहरूमा रोकिन प्रशासनले आग्रह गरेको छ ।
माथिल्लो मनाङमा १ हजार ५ सयको हाराहारी र चामे क्षेत्रमा ३ सयको हाराहारीमा स्वदेशी पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका रेञ्जर प्रकाश अधिकारीका अनुसार तल्लो पिसाङदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । उहाँका अनुसार मनाङमा एकसातादेखि दैनिक २ सयको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् ।
प्रशासनले सोमबार एक सूचना जारी गरी मौसममको अवस्था बुझेर मात्रै यात्रा गर्न भनेको थियो । हिमपात भएपछि हिमपात नरोकिएसम्म यात्रा नगर्न भनेको छ । प्रजिअ पौड्यालले उद्धार गर्नुपर्ने अवस्थामा पर्यटक रहेमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।
यसैगरि सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ । मौसममा बदली भएसँगै हिजो साँझदेखि नै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बुपासाङल्हामु गाउँपालिकाको तेङबोचेभन्दा माथिल्लो क्षेत्रमा पनि मंगलबार विहानैदेखि हिमपात भइरहेको छ ।
खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटक प्रभावित भएका छन् । सगरमाथा क्षेत्रको भ्रमणमा त्यस क्षेत्रमा पुगेका पर्यटकहरू होटल भित्रै थन्किएका छन् । हिउँ परेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरू होटल भित्रै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ । नाम्चे बजारमा भने सोमबारदेखि नै पानी परिरहेको छ ।
यसैगरी कास्की प्रशासनले पनि अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरेको छ । म्याग्दी प्रशासनले अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाएको छ ।