
कञ्चनपुर । कञ्चनपुरमा पनि छठ पर्व मनाउन लागिएको छ ।
महेन्द्रनगरस्थित ऐठपुर नहरमा र बेलौरीस्थित स्याली नदीको तटमा रहेको छठ पूजा घाटमा पूजाआजा गर्दै सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई मनाइँदैछ । कञ्चनपुरको बेलौरी क्षेत्रमा छठ पर्व मान्ने समुदायका करिब २० परिवार मात्रै हुनुहुन्छ भने महेन्द्रनगरमा करिब ५० परिवार रहेको छठ पूजा आयोजक समितिका संयोजक राम सोगारक ठाकुरले जानकारी दिनुभएको छ ।
छठ घाटहरूमा रङ्गरोगन गरी वरिपरी केराका खम्बा, ध्वजापताका लगाएर सजावट गरिएको छ । ब्रतालुहरूले केरा, उखु, अदुवा, मुला, स्याउ, सुन्तला, कागती, अमिलो, भोगटेलगायतका फलफूलहरू तथा मिष्ठान, पकवानसमेत चढाइरहनु भएको छ ।
सूर्यलाई भगवानकाे प्रतीकको रूपमा पूजा गर्ने भक्तजनहरूले आ-आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वासका साथ पूजा गरिरहेका छन् । चतुर्थीका दिन नुहाउने र चोखो खाने कुरा ग्रहण गर्नुभएका भक्तहरूले पञ्चमीमा दिनभर ब्रत बसेर राति पूजा गरेका थिए ।
छठ पर्वको मुख्य दिन साेमबार षष्ठीका दिन अस्ताउँदो र भोलि सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनेछन् । छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्व अत्यन्त गहिरो र पवित्र रहेको यसबारे जानकार रामलखन गुप्ताको भनाइ छ ।
यो पर्व विशेष गरी सूर्यदेव र छठी माताको पूजा अर्चना गर्ने पर्व हो । छठ पर्वमा मुख्यतया ब्रतालुहरूले सूर्यको उपासना गर्छन्, किनकि सूर्यलाई जीवन, ऊर्जा, स्वास्थ्य तथा समृद्धिको स्रोत मानिन्छ । यो पर्व विशेष गरी नेपालको मधेस र तराई क्षेत्र तथा भारतको बिहार, उत्तर प्रदेश तथा अन्य केही क्षेत्रमा ठूलो उल्लास र श्रद्धाका साथ मनाइन्छ ।