
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा विपिन जोशीको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन र श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।
दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल जानु भएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिनलाई इजरायलबाटै हमास समूहले अपहरण गरी दुई वर्षसम्म अज्ञात अवस्थामा राखेको थियो । दुई साताअघि विपिन जिवित नरहेको खुलेसँगै गत सातामात्रै विपिनको शव नेपाल ल्याई गृह नगरमा अन्त्येष्टि गरिएको थियो । उक्त घटनाबाट स्तब्ध बनेका सयौँ युवाहरू, स्थानीयवासी र जनप्रतिनिधिहरूले दिप बाल्दै उहाँको विगतलाई स्मरण गर्नु भएको छ ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालयका अधिकारीहरू, सशस्त्र प्रहरीका प्रतिनिधि र विभिन्न संघसंस्थाका पदाधिकारीहरू, विपिनकि बहिनी पुष्पा र आफन्तहरूको समेत उपस्थिति थियो । उपस्थित सबैले जोशीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको असामयिक निधनले कञ्चनपुरले एक ऊर्जाशील, संघर्षशील र सामाजिक रूपले सक्रिय युवाको अपूरणीय क्षति व्यहोर्नुपरेको बताउनु भएको छ ।
यसअघि शनिबार साँझ भीमदत्त नगरपालिका-३ मालिकार्जुन टोलका स्थानीयले श्रद्धाञ्जलि सभा र दीप प्रज्वलन कार्यक्रम गर्दै टोलको प्रमुख चोकलाई ‘विपिन चोक’ नामाकरण गर्नु भएको थियो । स्थानीयहरूका अनुसार उक्त चोक अब स्व. जोशीको अमर योगदान र स्मृतिको प्रतीकका रूपमा रहने छ ।
भावनात्मक वातावरणबीच सम्पन्न कार्यक्रमले विपिन जोशीप्रति कञ्चनपुरका युवाहरूको माया, सम्मान र एकताको सन्देश दिएको छ ।