
काठमाडौं । मैथिल समुदायमा हर्सोल्लाषपूर्वक मनाउने छठ पर्वको तयारी सुरू भएको छ ।
अन्नकुट तथा गोधन पर्व र भ्रातृद्वितिया पर्व सम्पन्न भएलगत्तै मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी सुरू गरेका हुन् । छठ पर्वका लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सरसफाई तथा सजावटको कार्य सुरू भएको छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ ।
यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बाक्लो छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनारलगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिँदै छ ।
खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरू गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउलगायतका पोखरीहरूलाई नवदुलहीझैँ सजाइँदैछ । जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज सर पोखरीमा मात्रै ११ हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्ने गर्छन् ।
जनकपुरधामका साथै तराई मधेसका गाउँगाउँमा रहेका पोखरीहरूलाई समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भइरहेको छ ।