ढिस्कोले पुरिएर तीन बालबालिकासहित चार जनाको मृत्यु

आश्विन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ढिस्कोले पुरिएर तीन बालबालिकासहित चार जनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ हर्दी नदी किनारमा माटोको ढिस्कोमा पुरिएर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।

माटो खान्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुनको मृत्यु भएको हो । बुधबार बिहान करिब ९ बजेर २० मिनेटको समयमा खुर्पाले माटो खन्ने क्रममा अचानक ढिस्को खसेपछि उनीहरू पुरिएका थिए । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय हरिपुर्वाबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा अस्पतालले चारै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै वीरगञ्जमा लागेको दशैं मेलामा गएराति झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हनेमा बाराको परवानीपुर घर भई बीरगञ्ज बस्ने अन्दाजी २२ वर्षीय शिवम साह कानु रहेको प्रहरीले जनाएको छ । माइस्थानबाट गीतामन्दिर जाने बाटोमा दुई समूहबीच कुटाकुट हुँदा घाइते भएका शिवमलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।

यसैबीच खोटाङको साकेला गाउँपालिका -२ मूलखर्का ६९ वर्षीय धीरज राईको चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो परको चट्याङले राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभयो ।

उता बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान भएको सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौं आइरहेको यात्रुवाहक बसले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बाराको फेटा गाउँपालिकाका २५ वर्षका मकेश्वर पटेल र पार्साको बीरगञ्जकी २६ वर्षीया कविता देवी रहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.