जाजरकोट । पुरानो संस्कार र मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले जाजरकोटमा पहिलोपटक खुला चंगा उडाउने प्रतियोगिता सम्पन्न भएको छ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा वडा दशैँ तथा दीपावलीको अवसरमा सदरमुकाम खलंगामा प्रतियोगिता गरिएको हो। प्रतियोगितामा सात जनाले सहभागिता जनाएका थिए।
प्रतिस्पर्धीमध्ये विश्व विक्रम शाह प्रथम, कृष्ण विक्रम शाह दोस्रो र विकिश विक्रम शाह तृतीय घोषित भए। विजयीलाई स्थानीय समुदायका अगुवा तथा प्रतिष्ठानका पदाधिकारीले नगदसहित सम्मान गरेका थिए ।
कार्यक्रमकै क्रममा गाउँघरको पुरानो पहिचान मानिने लिङ्गे पिङ्ग पनि विधिवत् उद्घाटन गरिएको छ। पिङ्गको रस्सी तान्दा बालबालिका र युवायुवतीको उत्साह झन् बढेको थियो।
पछिल्ला वर्षहरूमा गाउँघरमा हराउँदै गएको मौलिक संस्कारलाई जोगाउने यस्ता गतिविधि महत्वपूर्ण भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयाे ।
स्थानीय बासिन्दाले चंगा उडाउने प्रतियोगिता र लिङ्गे पिङ्ग उद्घाटनले दशैं-तिहारको उल्लास थप चुल्याएको प्रतिक्रिया दिएका छन्।