नवरात्रको छैटौँ दिन, आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै

आश्विन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवरात्रको छैटौँ दिन, आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको छैटौँ दिन आइतबार देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। 

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। 

शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्। देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ। 

उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ। दाहिने हातमा अभय र बर मुद्रा रहँदा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छ। उनीलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ।

काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू-गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आइतबार विशेष पूजा आराधना भइरहेको छ। दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष विजया दशमी असोज १६ गते बिहीबार परेको छ । त्यसदिन बिहान ११ बजेर ५३ मिनेटमा देवीको प्रसाद र टीका ग्रहण गर्न उत्तम हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.