काठमाडौं । भारतको तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३९ जनाको मृत्यु भएको छ भने ९५ जना गम्भीर घाइते भएका छन्।
तीमध्ये १० बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । विजयको राजनीतिक पार्टी तमिलगा वेट्री कडगम-टीवीकेको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो ।
हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो । विजय आगामी वर्षको सुरूवातमा हुने राज्य निर्वाचनको पूर्वतयारी स्वरूप प्रचारमा छन् । घाइतेको उपचारका लागि नजिकैका तिरूचिरापल्ली र सेलम जिल्लाबाट कम्तिमा ४४ जना चिकित्सकलाई करूर पठाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्भाग्यपूर्ण घटना अत्यन्तै दु:खद रहेको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा यस घटनामा आफ्नो प्रियजन गुमाएका परिवारप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ ।
अभिनेता विजयले पनि प्रति मृतकका परिवारलाई २० लाख रूपैयाँ र घाइतेको उपचारका लागि २ लाख रूपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।