एसीसी एसिया कप फाइनल : आज राति भारत र पाकिस्तान भिड्दै

४१ वर्षको इतिहासमा पहिलो पटक आमनेसामने
आश्विन १२, २०८२ |सुवास रोकाया
एसीसी एसिया कप फाइनल : आज राति भारत र पाकिस्तान भिड्दै
Photo Source : Aljajeera

काठमाडौं । ४१ वर्ष, १७ संस्करण । दुई प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान एसीसी एसिया कपको फाइनलमा कहिल्यै पनि आमनेसामने भएनन् । तर यस पटकको टी-२० प्रारूपको एसिया कप फाइनलमा यी दुई टोली आमनेसामने हुँदैछन् । 

राजनीतिक विवाद र तनावका बाबजुद दुबई इन्टरनेशनल स्टेडियममा पाकिस्तान भारतलाई हराउँदै उपाधि जित्न चाहन्छ । समूह चरण र सुपर चारमा पाकिस्तानलाई भारतले पराजित गरेको थियो । भारत पनि जितको हृयाटि्रकसहित च्याम्पियन बन्ने दाउमा छ ।

दुई राष्ट्र,समृद्ध क्रकेट संस्कृतिर एक साझा मञ्च एसीसी टी-२० एसिया कप २०२५ को फाइनल । आइतबार राति दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदै छन् । यो प्रतिस्पर्धा रन र विकेटभन्दा पनि दुवै मुलुकका लागि राष्ट्रिय गौरवको मुद्दा बनेको छ ।

भारत, यो प्रतियोगिताको एक मात्र अपराजित टोली हो । पहिलो बलदेखि अन्तिम रनसम्म भारतले कुशल कप्तानी, उत्कृष्ट ओपनिङ, र घातक स्पिन आक्रमणले विपक्षीलाई नतमस्तक बनाउँदै आएको छ। अभिषेक शर्माको आक्रामक प्रदर्शनले टीमलाई अजय बनाएको छ । कुलदीप यादवको जादूयी बलिङले विपक्षीहरूलाई चकित पारेको छ।

तर, हार्दिक पाण्ड्या र अभिषेक शर्माको चोट, मध्य र तल्लो क्रमको अनिश्चितता, अनि फास्ट बलरहरूको औसत लय, यी सबै भारतीय टोलीका कमजोरी हुन्, जुन ठूलो मञ्चमा उजागर हुन सक्ने खतरा छ।

पाकिस्तान मुस्किलले फाइनलसम्म आइपुगेको टोली हो। शारजाहको गर्मी, आलोचना र दबाबबीच पनि हरिस राउफ र शाहीन अफ्रिदीको स्पार्क, फखर जमान र साहेबजादा फरहानको ब्याटिङले पाकिस्तानलाई विभिन्न चुनौतीबाट बाहिर निकालेको छ । तर, मध्यक्रम र तल्लोक्रमको असफलता, गलत रणनीति, अनि अस्थिर नेतृत्वले पाकिस्तानलाई कमजोर बनाएको छ।

यसै संस्करणमा भारतसँग दुईपटक हार बेहोरिसकेको पाकिस्तान तेस्रो भिडन्तमा चमत्कार गर्न चाहन्छ । भारतले दुईपटक आरामदायी रूपमा जितेको तथ्यले वर्तमानमा भारतको पलडा भारी देखिन्छ । तर फाइनलको आफ्नै तनाव हुन्छ, जहाँ कुनै पनि अवस्थामा नतिजा बदलिन सक्छ।

हात नमिलाएकोदेखि पोस्ट म्याच विवाद, खेल मैदानमा गरिएका राजनीतिक र सैनिक इसारा तथा आईसीसीसम्मै पुगेका मुद्दा यीनै कारण भारत पाकिस्तानबीचको फाइनल खेल 'जेन्टलम्यानखेल' नरहने निश्चित छ । 

सूर्यकुमार यादव वा साइम अयुव, कसको टोली विजेता बन्ला, यो कौतुहलता सिंगो क्रिकेट जगतमा छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।