काठमाडौं । भदौ २३ र २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा काडाँघारी प्रहरी प्रभाग, मुलपानी पाटाचौर र थली प्रहरी चौकीमा आगजनी भई भवन र सवारी साधनहरू पूर्णरूपमा क्षतिग्रस्त भए।
यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीको सुरक्षा र शान्ति व्यवस्थालाई सर्वोच्च प्राथमिकता दिँदै तत्काल प्रभावकारी कदम चालेको छ।
नगरपालिकाले काडाँघारी प्रहरी प्रभागलाई ४ पाङ्ग्रे टाटा कम्पनीको नयाँ भ्यान, प्रहरी बिट मुलपानी पाटाचौर, प्रहरी बिट अर्याल गाउँ तथा थली प्रहरी प्रभागहरूलाई मोटरसाइकलहरू हस्तान्तरण गरेको छ। यी सवारी साधनहरू गस्ती कार्यलाई अझ छरितो बनाउँदै अपराध नियन्त्रण र आकस्मिक घटनामा तुरून्त प्रतिक्रिया दिने क्षमतामा वृद्धि गर्नेछन्।
नगरप्रमुखले हस्तान्तरण कार्यक्रममा सुरक्षा नै विकास र सुशासनको आधार रहेको र यी सवारी साधनहरूले नगरभित्रको प्रहरी सेवालाई थप प्रभावकारी र नगरबासीले आफूलाई अझ सुरक्षित महसुस गर्ने बताएका छन्।
नगरप्रमुख उपेन्द्र कार्की र प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदीले कर्मचारी बैठक राखी, नगर कार्यालयबाट उपलब्ध गराइएका सुविधाहरूलाई केही समायोजन गर्दै पनि प्रहरी सेवा र सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयाे। उहाँले सबैलाई नगरबासीको सुरक्षामा सहयोग गर्न र आफ्नो तर्फबाट पनि सकेसम्म हातेमालो गर्न आग्रह गर्नुभयाे।
यता, नगर प्रहरी सहायक निरीक्षक सुबिन कार्की नेतृत्वको नगर प्रहरी टोलीले पनि नगरबासीको सुरक्षा सुनिश्चित गर्न चौबीसै घण्टा तैनाथ भई खटिने प्रतिबद्धता जनाएका छन्।
यो पहलले नगरपालिकाको दृढ नेतृत्व र जनताप्रति उत्तरदायित्व प्रष्ट पार्दै सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने ऐतिहासिक कदमको रूपमा लिइएको छ।