पर्सा । पर्साको वीरगञ्ज कारागारका एक कैदीको उपचारको क्रममा मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ ।
कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि वीरगन्ज कारगारमा कैद सजाय भुक्तानी गर्दै आएका वीरगन्ज महानगरपालिका २५ का २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा बिहान साढे १० बजे मृत्यु भएपछि आफन्त र परिवारले प्रदर्शन गरेका थिए ।
प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल परिसरमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेपछि सत्यतथ्य छानबिनका लागि सात सदस्य छानबिन समिति गठन गरिएको हो ।
मंगलबार बिहान साढे ८ बजे कारगारका प्रहरीले राहुललाई उपचारका लागि अस्पतालको आकस्मिक कक्ष पुर्याउँदा राहुलको मुखबाट रगतसहित फिँज निस्किरहेको चिकित्सकहरूले बताएका छन ।
राहुलको मृत्युको कारण पल्मोरी इडिमा -हार्ट फेलियर रहेको अस्पतालले जनाए पनि मृतकका परिवारजन र आफन्तले भने स्थानीय प्रशासन र प्रहरीको लापरवाहीका कारण समयमै उपचार नपाउँदा राहुलको मृत्यु भएको आरोप लगाएका छन् ।