काठमाडौं । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न भारतीय गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महराष्ट्र, कलकता, पश्चिम बंगाल घर भई पोखरा बस्ने ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीय सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरू कालीगढ र सुनचाँदीकै काममा संलग्न भएको खुलेको छ ।
उनीहरूलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
शुक्रबार अपरान्ह सूचना पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयको टोली अपरेसनमा खटिएको थियो । प्रहरीले यो अपरेसनलाई ‘अपरेसन यल्लो मेटल’ नाम दिएको छ ।
उनीहरूको साथबाट ५ सय ४९ तोला ४० लाल (६ किलो ४ सय ग्राम सुन), ४ सय ४४ तोला ७३ लाल (५ किलो ३ सय ग्राम) चाँदी र ५ लाख १४ हजार ६ सय ६५ रूपैयाँ बरामद भएको एसपी ओलीयाले बताउनुभयाे । पक्राउ परेकाले भारतबाट सुन ल्याउने र पोखरामा त्यसलाई बनाएर बेच्ने गरेको खुलेको उहाँले बताउनु भयो।
बजार भाउअनुसार बरामद सुनको मूल्य ११ करोड १ लाख ४ हजार रूपैयाँ र चाँदीको मूल्य १० लाख ३९ हजार रूपैयाँ पर्छ । पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।