काठमाडौं । देशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । मुलुकका ६ प्रदेशका २९ जिल्लामा फैलिएको लम्पी स्किनबाट ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । २७ हजार ४ सय २५ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।
कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा लम्पी स्किन फैलिएको विभागले जनाएको छ । सबैभन्दा बढी कोशी प्रदेशमा यसको संक्रमण देखिएको छ । गत असार ६ गतेदेखि साउन २० गतेसम्मसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १ सय २२ पशु संक्रमित भएको र ६ सय ३७ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
लम्पी स्किन संक्रमण मधेशका ८, बागमतीका ५, लुम्बिनीका ३, गण्डकी र कर्णालीका १/१ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि भएको छैन ।
यो रोगबाट मधेशमा ४ हजार ४ सय ९२ पशु संक्रमित भएका छन् भने १ सय ७९ पशु मरेको छ । बागमतीमा ३० पशु मरेका छन् भने ७ सय ९३ पशु संक्रमित छन् । यस्तै लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यो रोगबाट संक्रमित भएको विभागले जनाएको छ ।
देशभर ५ लाख ६१ हजार ७ सय ५१ पशुलाई लम्पी स्किनविरूद्धको खोप लगाइएको विभागले जनाएको छ ।