दिदी-भाइ मृत फेला प्रकरण : प्रहरीले चिहानबाट शव निकालेर जिल्ला ल्यायो

श्रावण २६, २०८२ |उत्तम चौलागाईं
दिदी-भाइ मृत फेला प्रकरण : प्रहरीले चिहानबाट शव निकालेर जिल्ला ल्यायो

खोटाङ । कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गरिएको दिदीभाइको शव उत्खनन गरी पोष्टमार्टम गर्न जिल्ला ल्याइएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु सापातेलका गोविन्द बस्नेतको ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराजको शव उत्खनन गरी पोष्टमार्टम गर्न जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ।

घरमा कोही कसैलाई जानकारी नगराई साउन २२ गते अन्य चारजना साथीहरूसँग पौडी खेल्न साप्सुखोला गएकोमा उनीहरू बेलुकीसम्म घर नफर्केपछि अभिभावकहरूले खोजतलास गर्दा राति १२ बजे चेपा भिरबाट एक हजार मिटर तल खरूवा खोलामा खसेर पानीमा डुबेको अवस्थामा मृत भेटिएका दुवैजनाको शव फेला परेको थियो।

घट्नाका विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले चिहानबाट उत्खनन् गरेर शवको कानूनी प्रक्रियापश्चात् परीक्षणका लागि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयाे।

साउन २२ गते राति करिब आठ बजे आफ्नै बुबाले मृत भेटेका दुई दिदी-भाईको शवलाई रातभरि गाउँलेले त्यहीँ रूँगेर भोलिपल्ट शुक्रबार छोरम्बु लगेर आफुखुसी दाह संस्कार गरेका थिए।

कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्ने तथा पूरा गर्न असहयोग गर्ने व्यक्तिहरूविरूद्ध मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । मुद्धाको प्रकृति र क-कसलाई प्रतिवादी बनाएर मुद्दा चलाउने भन्नेमा भने, प्रहरीले खुलाएको छैन ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।