काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले सरकारको नेतृत्व लिएपछि गरेको मित्रराष्ट्र चीन र थाइल्यान्डको औपचारिक भ्रमण तथा विमस्टेकको छैटौं शिखर सम्मेलन, विकासका लागि वित्त सम्बन्धी चौथो संयुक्त राष्ट्रसङ्गघीय सम्मेलनमा भएको सहभागिता र परराष्ट्र मन्त्रीद्वारा भएका विभिन्न देशका भ्रमण र बहुपक्षीय फोरममा भएको सहभागिता तथा विभिन्न मन्त्री तथा मन्त्रालयका अधिकारीद्वारा भएको भ्रमण-सहभागिताले नेपालजस्ता देशका चासो, मुद्दा र आवाजहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउने र नेपाललाई क्षेत्रीय तथा विश्वस्तरीय मञ्चमा चिनाउने काम भएको बताउनु भयो ।
वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने संकल्पकासाथ अघि बढिरहेको उहाँले बताउनु भयो । देशका विभिन्न भागमा आएका बाढी पहिरो, खडेरी जस्ता विपत्तिहरूका वाबजुद माथि उल्लेख गरिएका आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको संकेत गरेको उहाँले बताउनु भयो ।